समता विद्यालयको सहयोगार्थ अमेरिकामा सांस्कृतिक कार्यक्रम

Samata program
काठमाडौँ ।
एक सय रुपैयाँँ शुल्कमा कक्षा १ देखि स्नातकोत्तरसम्मको शिक्षा प्रदान गर्दै आएको समता विद्यालयको सहयोगार्थ अमेरिकामा कार्यक्रम आयोजना गरिएको छ । विभिन्न नौ राज्यमा गरिने कार्यक्रममा सहभागी हुन विद्यालयका संरक्षक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, विद्यालयका अध्यक्ष तथा परिकल्पनाकार उत्तम सञ्जेल अमेरिका पुगेका छन् । उक्त कार्यक्रमको सुरुवात शनिबार अमेरिकाको न्यूयोर्कबाट गरिएको छ ।

नेपालको ७७ जिल्लामा संचालित करिब ५० हजार विद्यार्थी अध्ययन गरिरहेका समता विद्यालयको  सहयोगार्थ अमेरिकाको विभिन्न नौ वटा राज्यमा सांस्कृतिक कार्यक्रमसहितको कार्यक्रम आयोजना गरिन लागिएको हो । न्यूयोर्कबाट शुरु गरिएको कार्यक्रममा गायक रामकृष्ण ढकाल, विमल डाँगी, निशा सुनारलगायत एक दर्जन कलाकारले गायन तथा नृत्य प्रदर्शन गरेका थिए । साथमा मह जोडीले समेत प्रस्तुति दिएको थियो ।

कार्यक्रमका बारेमा संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ कलाकार श्रेष्ठले भने, “हामी यो पटक अमेरिकामा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शैक्षिक क्षेत्रमा योगदान दिन अनुरोध गर्दै आइपुगेका छौँ । समता विद्यालय एउटा उत्कृष्ट शैक्षिक प्रतिष्ठानको नमूना भएको र यसका लागि विगत २२ वर्षदेखि एक जनाले चलाउँदै आउनुभएकाले यसमा हातेमालो गर्न अपिल गर्दै हामी आएका हौँ ।”

सांस्कृतिक कार्यक्रमसहित सहयोगार्थ कार्यक्रम आयोजना गरिन लागेको जानकारी दिँदै ग्लोबल सिनेटका अध्यक्ष प्रा. डा. उत्तम गौलीले नेपालको रूपान्तरण शिक्षाबाट मात्र सम्भव छ भन्ने विश्वासका साथ सर्वसुलभ गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियान भएको बताए ।

उनका अनुसार शिक्षा क्षेत्रमा समता विद्यालयले सञ्चालन गरेको विद्यालयहरूलाई सहयोग गर्न विदेशमा बस्ने नेपालीहरुलाई निश्चित शुल्क तिरेर सिनेटरको उपाधि दिइने छ । यसरी उपाधि प्राप्त गरेका व्यक्तिले विद्यालयको सञ्चालनका लागि विभिन्न नीति नियम तय गर्न तथा रणनीति निर्माण गर्न सहयोगी भूमिका निर्वाह गर्नेछन् ।

गौलीले भने, “अमेरिकामा नेपाली समुदायले व्यक्त गरेको चासो र प्रतिक्रियाले हामीलाई उत्साहित बनाएको छ ।” शनिबार न्यूयोर्कमा आयोजित कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेतको आयोजना गरिएको थियो । समता ग्लोबल सिनेटको आयोजनामा भएको बृहत् सुशोभन समारोह तथा सांस्कृतिक साँझमा नेपालीहरूको उल्लेख्य उपस्थिति थियो ।

 

प्रतिक्रिया

सम्बन्धित