अब एक घण्टाभित्रै लाइसेन्स

yatayat-office-thulo-bharyang-swoyambhuकाठमाडौं : सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन तपाई हामीलाई दुइ दिन लाग्थ्यो । तर, अब त्यो समस्या हट्ने भएको छ । लाइसेन्स लिन त परै जाओस् परिक्षा दिनपूर्व फर्म बुझाउनका लागि पनि झण्डै २४ घण्टा लग्थ्यो । बागमती अञ्चल यातायात कार्यालय एकान्तकुनामा फर्म बुझाउनेहरुको लाइन विहानको दुई बजे नै देख्न सकिन्छ । एक स्थानमा मात्र कार्यालय हुँदा यस्तो अवस्था सिर्जना भएको थियो । सरकारले अब दुइ ृभन्दा बढि स्थानमा यातायात कार्यालय सञ्चालनमा ल्याउने भएपछि उक्त समस्या हट्ने भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले अब लाइसेन्स लिने सबै प्रक्रिया एक घण्टाभित्रै पूरा गर्ने घोषणा गरेका छन् । आइतबार स्वयम्भुको ठूलो भर्‍याङमा यातायात कार्यालय उद्घाटन गर्दै मन्त्री लेखकले यातायात क्षेत्रमा सुधारको काम थालनी भइसकेको बताउँदै अब आधा घण्टाभन्दा बढी कार्यालयमा लाइन बस्नुनपर्ने बताए । देशभरका यातायात कार्यालयमा अनलाइन आवेदन फारमको व्यवस्था मिलाइने भन्दै मन्त्री लेखकले दर्ता र नविकरणको काम पनि अब अनलाइनमार्फत् नै गर्ने घोषणा गरेका छन् । उनले अनलाइनबाट आवेदन लिन सुरु गरिसकेको र काठमाडौंमा यातायातका थप कार्यालय खुल्ने प्रक्रियामा रहेको जानकारी दिए । अनलाइन प्रणालीमा काम भए पनि सेवाग्राहीले कर्मचारीलाई रिझाएर काम गराउनुपर्ने बाध्यता हट्ने मन्त्री लेखकको विश्वास छ । ठूलोभर्‍याङस्थित कार्यालयले भोलिबाट नविकरणको काम सुरु गर्ने छ । आगामी आइतबारबाट भने लाइसेन्सका सबै काम सुरु हुने यातायात व्यवस्था बिभागले जनाएको छ । अबको एक हप्ताभित्रै कार्यालय अन्तरगत रहने गरी निजी ट्रायल सेन्टर भाडामा लिएर काम थालिने विभागले जनाएको छ ।  ‘नयाँ कार्यालयको आफ्नै ट्रायल सेन्टर नभएसम्म दैनिक लिइँदै आएको भन्दा बढी आवेदन लिने नसकिने जनाउँदै विभागले लाइसेन्स वितरणअघि हुने ट्रायलका लागि निजी सेन्टर भाडामा लिन लागेको समेत जनाएको छ । स्वयम्भु कार्यालय खुलेपछि ललितपुरको एकान्तकुनास्थित यातायात ब्यवस्था कार्यालयमा धाउनुपर्ने बाध्यता हट्ने छ । एकान्तकुनामा हुने सेवाग्राहीको चाप पनि घट्ने विश्वास गरिएको छ । प्रचण्ड प्रधानमन्त्री भएलगत्तै यातायात कार्यालयहरु थप्न र सेवाग्राहीलाई सहजरुपमा लाइसेन्स वितरण, नविकरण लगायतका काम गर्न मातहतका निकायलाई निर्देशन दिएका थिए । सोही निर्देशन अनुसार नयाँ कार्यालय खोलिएको हो । अब भक्तपुरको सल्लाघारी र काठमाडौंको चाबहिलमा पनि लाइसेन्स वितरण गर्ने कार्यालय खुल्नेछन् । यसका लागि घर भाडामा लिएर विभागले फर्निसिङको काम गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित