भक्तपुरका एमाले उम्मेदवार भन्छन् : ‘आधुनिक कृषि, आर्थिक समृद्धि’

Suryabinayak (3)


भक्तपुर, ।
नेकपा एमाले भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरुले आधुनिक कृषिको रुपान्तरण नै आर्थिक समृद्धिको मुख्य आधार हुनेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेत तथा प्रदेशसभा ‘क’का किरण थापा, ‘ख’ चन्दनकृष्ण श्रेष्ठले संयुक्त रुपमा जारी गरिएको प्रतिवद्धता पत्रमा कृषिको आधुनिकीकरण गर्दै कृषकको आर्थिक स्तर सुधार गर्दै मुलुकको नै आर्थिक वृद्धिदरलाई टेवा पुग्ने उद्देश्य राखिएको छ । सोही अनुसार ‘एक वडा, एक उत्पादन’ नीति लिने प्रतिवद्धतामा उल्लेख गरिएको छ ।

मध्युर थिमी नगरपालिका वडा नं. ५ र सूर्यविनायक नगरपालिका वडा नं. १० मा एमालेले आयोजना गरेको घरदैलो कार्यक्रममा उम्मेदवारहरु कृषकसँग भलाकुरासीसँगै नेपाल कृषि प्रधान मुलुक भएकाले आधुनिक कृषिको माध्यमबाट आर्थिक रुपान्तरण उम्मेदवारले जोड दिनुभयो । उक्त क्रममा दुवै स्थानहरुमा कृषियोग्य जमिनहरुको संरक्षण गर्दै भक्तपुरका कृषकहरुको जिविको पार्जनलाई सहज बनाई बजार विस्तार गर्नेमा उम्मेदवारहरुले जोड दिनुभयो ।

भक्तपुरको कला, संस्कृति, रितिरिवाज, परम्परालाई समेत रोजगारसँग जोड्नुपर्नेमा जोड दिँदै उम्मेदवारहरुले भक्तपुर कला, संस्कृति, परम्परालागयतको कुराहरुको राजधानीकै रुपमा रहेकाले उक्त कुरालाई आधुनिक तरिकाले अगाडी बढाएमा जिल्लाको मात्र नभई मुलुककै आर्थिक समृद्धिको मेरुदण्ड बन्ने धारणा राख्नुभयो ।

सूर्यविनायक नगपालिका वडा नं. १० को घरदैलो पश्चात आयोजना गरिएको कोणसभामा बोल्दै नेता बस्नेतले जिल्लामा एमालेलाई विजयी गराउन दैनिक रुपमा दर्जनौं युवाहरु एमालेमा प्रवेश गरिरहेको बताउनुभयो । एमालेको जीत नै मुलुक र भक्तपुरको विकास र समृद्धि हुने उल्लेख गर्दै उहाँले एमालेको नेतृत्वमा भएको सरकारको समयमा दैनिक रुपमा शिलान्यास र उद्घाटनमय बनेको सविस्तार उल्लेख गर्नुयभो । गठबन्धन सरकारले राष्ट्रघाती नागरिकता विधेयक ल्याएको र त्यसलाई कुनै पनि हालतमा एमालेले पारित गर्न नदिने दृढता व्यक्त गर्दै उहाँले एमसीसी र एसपीपी नेपालमा लागु गरि महशक्ति राष्ट्रहरुको खेलमैदानको बनाउन खोजेको भन्दै आक्रोस जनाउनुभयो ।

एमाले सरकारले गुमेको भूमि फिर्ता ल्याउने प्रकृयामा अगाडी बढेको तर वर्तमान सरकारले चुच्चे नक्सालाई बुचचे बनाएको उल्लेख गर्दै आगामी मंसिर ४ गते पछि एमालेको बन्ने सरकारले गुमेको भूमि फिर्ता ल्याएरै छाड्ने उद्घोष गर्नुभयो । वर्तमान गठबन्धन सरकारको एक मात्र लक्ष्य एमालेलाई हराउनु मात्र रहेको उल्लेख गर्दै उहाँले सरकारले मुलुकको विकास र समृद्धिमा होलिडे मनाएको भन्दै आक्रोस जनाउनुभयो । आधुनिक कृष, पर्यटन, कला, संस्कृति, परम्परा, उद्योग, पर्यटनलगायतको क्षेत्रहरुको विकास गरी जिल्लामा नै रोजगारीको वातावरण सिर्जना गर्ने एमालेको मुख्य लक्ष्य रहेको उल्लेख गर्दै उहाँले आफुहरु विजयी भएपश्चात जनताको एक मत, जनताकै हितको लागि पाँच वर्ष सेवा गर्ने प्रतिवद्धता जनाउनुभयो ।

त्यस्तै प्रदेश उम्मेदवार थापाले विगतमा समेत जनचाहना र भावनालाई बुझेर पाँच वर्षे कार्यकाल पुरा गरेको स्मरण गराउनुभयो । विगतमा जनमुखी कामहरु गरेकाले नै एमालेको जीतको आधार भएको उल्लेख गर्दै उहाँले अधुरा रहेका योजनाहरुलाई सम्पन्न गर्नको लागि एमालको विकल्प नभएको बताउनुभयो । आफुहरु निर्वाचित भएपछि जनताको माग, चाहना र आवश्यकता अनुसार विकासको लहर नै चलाउने उद्घोष समेत गर्नुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य निर्मलकुमार भट्टराई, बागमती प्रदेशका सदस्य मदनसुन्दर श्रेष्ठ, शशी जंग थापा, राजेन्द्र राजथला, जिल्ला अध्यक्ष बचन देउजा, प्रदेश समानुपातिक उम्मेदवार सकुन्तला श्रेष्ठ, अन्तर्राष्ट्रिय रेस्लर भगवती खड्का लगायतका नेता तथा कार्यकर्ताको साथमा स्थानीयवासीको सहभाागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित