गृहमन्त्री र आईजीपीबीचको युद्धले प्रहरीमा अन्यौल

homeminकाठमाडौं । गृहमन्त्री विमलेन्द्र निधी र नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्यालका स्वार्थहरु एक आपसमा मेल नखाँदा एसएसपीहरुको सरुवा प्रक्रिया लम्बिने भएको छ । आफ्ना अन्धभक्तहरुलाई असक्षम, कनिष्ठ र कार्यदक्षतामा शुन्य भएपनि राम्रा ठाउँमा पठाउने आईजीपीको अडान र कार्यकर्ताहरुको दबाबमा चल्नुपर्ने गृहमन्त्रीको बाध्यता एक आपसमा नमिल्दा प्रहरीमा सरुवा र बढुवामा अन्यौल बढ्न थालेको छ ।

 आईजीपीबाट विदा हुनु दुई महिना अघि सम्म पनि कार्यदक्षतामा शुन्य भएका आफ्ना अन्धभक्तहरुलाई बढुवा गर्नुपर्ने आईजीपी अर्यालको अडानमा कुनै परिवर्तन हुन सकेको छैन । बाहिर गृहमन्त्रीले राजनीतिक हस्तक्षेप गरे भन्दै मिडियामा कुर्लने प्रवृत्तिका आईजीपी अर्यालले अपराध महाशाखा र काठमाडौं परिसरमा गृहमन्त्रीले पठाउन चाहेका एसएसपीहरुलाई ठाडै इन्कार गरेको गृह मन्त्रालय स्रोतले बतायो ।

  एसएसपीहरुको पाँच भन्दा बढि स्थानमा प्रमुखहरु खाली भइसक्दा पनि आईजीपी अर्याल इन्चार्ज पठाउन असक्षम ठहरिएका छन् । दुई साता अघि महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी विक्रमसिंह थापा, सुदुर पश्चिम तालिम केन्द्र दिपायलमा कार्यरत एसएसपी भुपाल भण्डारी र अञ्चल प्रहरी कार्यालय सगरमाथाका प्रमुख एसएसपी उत्तम सिंहले अवकाश पाइसकेका छन् । त्यस्तै एसएसपी केदारमानसिंह भण्डारी, गणेश केसी र रमेश भट्टराई डिआईजीमा बढुवा भइसके पनि उनीहरुको ठाउँमा कसैलाई पनि पठाइएको छैन । पूर्व क्षेत्र तालिम केन्द्र विराटनगरमा कार्यरत एसएसपी राजेन्द्रमान श्रेष्ठ विरामी भएर काम गर्न जान नसकेको छ महिना भन्दा बढि वितिसकेको छ । उनको ठाउँमा नयाँ एसएसपी पठाउने बारेमा पनि अन्यौल नै छ ।

   अपराध महाशाखा र काठमाडौं परिसरमा एसएसपीहरु केदार रिजाल, धिरु बस्नेत, दिनेश अमात्य, मनोज न्यौपाने, ठूले राई, दिपक थापा र छविलाज जोशीमध्येबाट दुई जना छनौट हुने भएपनि आईजीपी अर्याल र गृहमन्त्री निधीबीच कसलाई पठाउने भन्ने विषयमा सहमति हुन सकेको छैन । गुण्डा, तस्कर र क्यासिनो दलालसँग बढि हिमचिम भएका एसएसपी दिनेश अमात्यलाई अपराध महाशाखामा पठाउन गृहमन्त्री विमलेन्द्र निधीलाई धनुषाका पार्टी सभापति रामसरोज यादवले दबाब दिंदै आएका कारण गृहमन्त्री निधी अरुको नामै लिन चाहँदैनन । मन्त्री निधीले परिसरमा कांग्रेस निकट एसएसपी छविलाल जोशीलाई पठाउन चाहेका छन् ।

  तर, आईजीपी अर्याल भने जोशीलाई पठाउन चाहँदैनन्,यूनाइटेड पोष्ट साप्ताहिकमा समाचार छ समाचार  । गत साता आईजीपी अर्यालले अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल, ललितपुर परिसरका एसएसपी पिताम्वर अधिकारी र काठमाडौं परिसरका निमित्त प्रमुख एसपी प्रधुम्न कार्कीलाई बोलाएर सरुवाको हल्लामा नलागी आफ्नो काममा यथावत लाग्न निर्देशन दिएपछि यी तीन ठाउँमा नयाँ प्रमुख पठाउने संभावना कम भएको छ । ललितपुरमा सरुवाको हल्लाले एसएसपी अधिकारी काममा कम ध्यान दिने र कमजोर चेन अफ कमाण्डका कारण चोरीका घटनाहरु दिन प्रतिदिन बढ्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित