चोरीको गाडीे कारोबार गर्ने गिरोह प्रहरी फन्दामा, गुप्ता पक्राउ पर्लान ?

spthapaचितवन । चोरीको गाडी र मोटरसाइकलको कारोबार गर्ने गिरोह धमाधम प्रहरी फन्दामा पर्न थालेका छन् । चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले आफू आउनासाथ शुरुमै चोरी गाडीको कारोबार गर्ने गिरोहको कनेक्सन खोतल्न लागि परेपछि चितवनमा गिरोहरु धमाधम प्रहरी फन्दामा परेका हुन् ।

चितवन, नवलपरासी र हेटौंडामा दैनिक पाँचवटा भन्दा बढि मोटरसाइकल चोरी हुन थालेपछि प्रहरीले सक्रियता देखाउँदा चोरीकै कारोबार गर्ने गिरोसम्म प्रहरी पुग्न सफल भएको छ । तर, कतिपय प्रहरी अधिकारीहरुको चोरी गाडी र मोटरसाइकलको कारोबार देखि तस्करी गर्ने गिरोहसँग कनेक्सन देखेपछि एसपी थापाले हैरानी बेहोर्नु परेको छ । चोरीका सवारी साधनहरु माथि विशेष अप्रेशन चलाएको चितवन प्रहरीले एक महिना अवधिमा मात्र दर्जनौं चोरीका सवारी साधनहरु माथि कारवाही गरेको छ ।

प्रहरीले चोरीका गाडीको इन्जिन र पाटपुर्जा बरामद गर्नुको साथै चोरीका मोटरसाईकलहरु बरामद गरेको छ । प्रहरीको विशेष टोलीले भरतपुरको लोकोमोटिभ मोटर्स वर्कशपमा खानतलासी गर्दा कागज पत्र विनाका गैरकानुनी ढंगले लुकाई राखेको अवस्थामा गाडीका इन्जिन र पाटपुर्जा बरामद गरेको हो । प्रहरीले सो वर्कसपबाट तीन वटा सेन्ट्रो कार, टाटासुमो र टाटा सफारी गाडीको इन्जिन समेत बरामद गरेको छ । प्रहरीले फणिन्द्र भण्डारीको उक्त वर्कशपमा काम गर्ने मुसे भन्ने बच्चन कार्की, देवनारायण श्रेष्ठ, गंगाबहादुर गुरुङलगायतलाई पक्राउ गरी मुद्दा चलाएको थियो । तर, उनीहरु धरौटीमा छुटिसकेका छन् ।

एसपी थापाले भण्डारी र अर्का नाइके दिपु भन्ने दिपेन्द्र श्रेष्ठको गिरोहलाई खोजी भइरहेको यूनाइटेड पोष्टसँग बताए । त्यस्तै, चितवन खैरहनी नगरपालिका–२ बस्ने वर्ष २५ का कपुर विक र रत्ननगर नगरपालिका–८ बकुलहरमा रहेको मनकामना वर्कशप एण्ड रिकण्डीशन पसलबाट दुई थान मोटरसाईकलसहित संचालक नारायणी नगरपालिका १० बस्ने वर्ष २५ का आश्विन श्रेष्ठलाई पक्राउ गरि मुद्दा चलाइएको छ । यस्तै, प्रहरीले पुस २ गते भरतपुर–४ स्थित रातो रङको सुजुकी मारुती कारसमेत बरामद गरेको छ ।

चितवन प्रहरीले बा ४० प ६९५६, ना ५ प ४५९५, ग १ प९३०, ना १७ प २८४९, बा ३ प ७९५०, लु ४ प ९८७३ लगायतका २४ वटा चोरीका मोटरसाईकल बरामद गरेको छ । अर्कोतिर एसपी थापाले चोरी गाडीको काम गर्ने गिरोहको कनेक्सन को–को सँग छ भनेर पत्ता लगाउन लागिपरेको बेला उनै मातहतका इन्सपेक्टरले भने बरामद गरेको चोरीको मोटरसाइकल नै तस्करीमा आरोप लागेका व्यक्तिलाई चढ्न दिएका छन् ।उक्त कुरा मिडियामा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयमा इन्सपेक्टर राजेन्द्र थापाले सुटुक्क  मोटरसाईकल बुझाएका छन् । दुई महिना अघि वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी हवल्दार उपेन्द्र यादब र जवान खगेन्द्र पाण्डेले देबघाटमा वेवारीसे अवस्थामा रहेको दुई सय ५० सिसीको होन्डा कम्पनीको सिबीआर मोटरसाइकल बरामद गरेका थिए ।तर,चोरीको उक्त बाइक भन्सारमा बुझाउनु पर्नेमा नारायणगढका इन्सपेक्टर थापाले भने प्रहरीमा दलाली गर्ने विवादास्पद व्यक्ति रोमेल गुप्तालाई चढ्न दिएका थिए् । गुप्ताले बा ७९ प ८२७९ नम्वरको नक्कली प्लेट हालेर उक्त बाइक चढ्दै आएका थिए ।  चितवनमा जो एसपी आए पनि तुरुन्तै प्रभावमा पारी हाल्ने खुबी भएका गुप्ताले लु १ च ५७५८ नम्वरको टाटा सफारी गाडी नारायणगढका इन्सपेक्टर थापा र चितवन जिल्लाका घुमुवालाई चढ्न दिएर  प्रहरी संरक्षणमा तस्करीको काम गर्दै आएका छन् । वियर फ्याक्ट्रीमा केमिकल सप्लाई गर्ने गुप्ताले शुरुमा बद्नाम घुमुवा सिकेन्दर साहको समूहलाई हातमा लिएर चोरीका इलेक्ट्रोनिक्स सामानदेखि कपडासम्म तस्करी गर्दै आएका थिए ।तर, साह चितवनबाट हटेपछि पनि गुप्ताको उक्त धन्दा अझै रोकिएको छैन । इन्सपेक्टर थापाको संरक्षणमा गुप्ताले नारायणगढमा अवैध रुपमा कपडा र इलेक्ट्रोनिक्स सामानको पसल सञ्चालन गर्दै आएका छन् । उनले भन्सार छली गरेर ल्याएका सामानहरु विक्री गरी इन्सपेक्टर थापालाई कमिसन बुझाउँदै आएका छन् ।गैंडाकोटका वियर फ्याट्रीमा गुप्ताले भन्सार छली गरेर ल्याएका केमिकलहरु पनि गुप्ताले सप्लाई गर्छन् । त्यसैगरी प्रहरीको ध्यान चोरीका सवारी साधानमा परेका बेला जिल्लाका घुमुवा प्रहरीहरुले भने नयाँ तरिकाबाट असुली गर्न थालेका छन् । केहि दिन अघि भारतबाट आएको डब्लु ४३–०५५७ नम्बरको पर्यटकको गाडी चितवनबाट काठमाडौं जाने क्रममा नारायणगढमा रोकेर हवल्दार रामविलास यादवले पैसा असुलेको घटना पनि सेलाएको छैन ।कमल नगर गल्लीमा रहेका मासु पसलबाटसमेत यादवको समूहले  बाख्रीको मासु बेचेको भन्दै जबर्जस्ती २५ हजार उठाएको कुरा पसलेहरुबीच हल्ला हुन थालेपछी घटना बाहिर आएको छ  । भाञ्जा भन्ने समुला नाम गरेका व्यक्तिबाट यादवले उक्त पैसा उठाएका हुन् । एसपी बसन्त कुँवर चितवनमा छँदा कारबाहीमा परेका यादवले अहिले भने दिउसै नारायणगढमा रहेका ट्रान्सपोर्टबाट पैसा उठाउन थालेका छन् । -यूनाइटेड पोष्ट साप्ताहिकमा समाचार छ समाचार ।

प्रतिक्रिया

सम्बन्धित