गण्डकी मेडिकल कलेजको छवि दिनदिनै धमिलो बन्दै

 यदुनाथ बञ्जारा gmcपोखरा । पटक–पटक विवादमा पर्दै आएको पोखराको गण्डकी मेडिकल कलेज पछिल्लो समयमा चिकित्सकहरुको हड्तालको सामना गरिरहेको छ । ‘नाम होस् वद्नाम होस् तर गुमनाम नहोस्’ भन्ने उखान जस्तै गण्डकी मेडिकल कलेजले असामान्य ढंगले आफ्नो नामलाई फैलाउने काम गर्दै आएको छ । कहिले चिकित्सक कर्मचारीहरुको संचय कोष काटेर पनि कोषको खातामा दाखिला नै नगरी आफै खर्च गरेर विवादमा तानिने काम गरेको थियो भने कहिले आइ ओएम परिक्षा पास नै नगरिएका विद्यार्थीलाई मोटो रकम लिएर भर्ना गराउने जिम्मा लिएर ३ हप्ता पढाएर निस्कासन गरेका कारण विद्यार्थीहरुलाई पीडा दिने गरे पनि विद्यार्थी सँग लिएको पैसा फिर्ता नगर्ने हर्कत गरेको गण्डकी मेडिकल कलेज व्यवस्थापन कलेज संचालन गर्न असक्षम देखिएको छ । पछिल्लो समय करिव २ हप्ता देखि गण्डकी मेडिकल कलेजका चिकित्सक कर्मचारीहरु विभिन्न मागहरु राखेर व्यवस्थापन विरुद्ध आन्दोलित छन् । वर्षौ देखि करारमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुले । नियम कानुन अनुसार अवधि पुरा गरेका कर्मचारीहरुलाई स्थायी गरिनुपर्ने, समय सापेक्ष तलव वृद्धि गर्नुपर्ने, समयमै तलव भत्ता पाउनु पर्ने, व्यवस्थापन सुधार गरिनु पर्ने जस्ता माग राखेर हस्पिटलमा आन्दोलन जारी राखेका छन् । चिकित्सक र कर्मचारीको हड्तालका कारण गण्डकी मेडिकल कलेजको ओपीडी सेवा ठप्प छ । ओपीडी सेवा नै बन्द गरेर आन्दोलित चिकित्सकहरुको मागको विषयमा कलेज व्यवस्थापन मौनता सांधेर बसेको छ । कलेज व्यवस्थापनको उदासिनता र आन्दोलनकारी चिकित्सकहरुको अडानको सिकार सर्वसाधारण विरामी परेका छन् । उपचारमा आएका विरामीहरुको समस्याका वारेमा सेवा क्षेत्र संचालन गरेका शिक्षण हस्पिटल व्यवस्थापन र चिकित्सक कर्मचारीको गैह्र जिम्मेवारीपनले पराकाष्ठा नाघेको छ । राज्यको निति नियम भित्र छिरेर सेवा संचालन गर्ने प्रतिवद्धता जनाएर संचालित मेडिकल कलेज र करारमा कार्यरत कर्मचारी र चिकित्सकहरुका वारेमा ऐन मौकामै निकास दिन नसक्ने राज्यका नियमक निकाय पनि उत्तिकै जिम्मेवार छन् । व्यवस्थापन पक्ष पेलेर जाने मनस्थितिमा रहेको छ ।

यता चिकित्सक कर्मचारीहरु करार सकिएकाहरुको करार म्याद थप गर्नु पर्ने मुख्य अडानमा देखिन्छन् । गण्डकी मेडिकल कलेजले केहि समय अगाडि करारमा कार्यरत डा. विनम्र वस्नेत र डा. विवेक रञ्जितकारको करार थप नगरेका कारण निस्कासनमा परेको विषयलाई मुख्य मुद्धा वनाएका छन् । निष्कासित दुई चिकित्सकको पुर्नवाहाली गर्नु पर्ने र यसरी करारमा नियुक्ती पाएका हरुलाई जागि वाट निकाल्न रोक लगाउन स्थायी नियुक्तीको माग गरेका छन् । यस विषयमा राज्यको निकायले ठोस निकास दिन वार्ताको पहल गरेपनि सफल हुन सकेको छैन । श्रम कार्यालय पोखराका प्रमूख भरतराज काफ्ले करार ऐन अनुसार सेवा प्रवेश गरेकाहरुका वारेमा करार ऐन नै आकिर्षत हुने वताउंछन् ।  व्यवस्थापनले करार अवधि तोकेर सेवा लिने संझौता गरेको हकमा सोही अनुसार हुने काफ्लेले वताए ।

आन्दोलनकारीले माग गरेको २४० दिन सेवा गरेपछि स्वतः स्थायी हुन पाउने कानूनी व्यवस्था करार सेवा ऐनमा नहुने प्रष्ट पार्दै उनले भने–‘कलेज व्यवस्थापनले त्रिविविको सेवा सर्त पालना गर्नु र कर्मचारी कामदार पक्षले पनि ऐन वमोजिम सेवा सर्त मान्नु पर्छ ।’ गण्डकी मेडिकल कलेज त्रिविविको सम्वन्धन प्राप्त आंगिक कलेज हो । उसले त्रिविविको निति नियमानुसार सबै प्रकारको सेवा सर्त पालना र संचालन गर्नु पर्छ । विद्यार्थीसँग मोटो शिक्षण शुल्क लिने तर, योग्य प्राध्यापकलाई रिझाउन सक्ने सेवा सुविधा नदिने वरु कागजी प्रकृया मिलाउन ‘खडे वावा’ तोकेर सेवा दिएको दावी गर्ने प्रवृत्तिका वारेमा सुक्ष्म छानविन जरुरी छ । गण्डकी मेडिकल कलेजको जारी हड्तालको वारेमा व्यवस्थापन र आन्दोलनकारी दुवै दोषि छन् ।

सेवा प्रवेश गर्दा करारनामा स्वीकार गर्ने अनि सकिएपछि पुर्नवाहालीको माग गर्ने करार थप नगरेमा आन्दोलन गर्ने अधिकारमुखि प्रवृत्ति मात्र हो भने कलेज व्यवस्थापनले आफ्नो संस्थाको साख जोगाएर गुणस्तरीय अध्ययन र भरपर्दो उपचार प्रणालीलाई ध्यानमा राखेर समयानुकुल व्यवस्थापकीय सुधार र सेवा प्रदानमा पारदर्शिता अपनाउनु जरुरी छ । शुल्क क श्रेणिको लिने सेवा ‘ग’ श्रेणीको दिन पाइन्छ ? कर्मचारी को तलव, सञ्चयकोष समयमा नदिएर कर्मचारीलाई दुख हैरानी दिने काम करोडौं लगानी गरेको मेडिकल कलेजले गर्न सुहाउँदैन । मेडिकल कलेज स्थापना र सञ्चालन गर्न माहिर कहलिएका खुमाप्रसाद अर्यालले सञ्चालन गरेको गण्डकी मेडिकल कलेज लगायतका अन्य कलेजको छवि दिनदिनै धमिलो बन्दै गएको छ ।

यस्तै अस्थिरता हड्ताल, अनियमितताका विषयमा वेला वेलामा चर्चा र विवादको भूमरीमा पर्दै आएको गण्डकी मेडिकल कलेजले सञ्चालनमा ल्याउन लागेको डेण्टल कोर्समा गण्डकी मेडिकल कलेज भर्ना आव्हानमा १ जना पनि विद्यार्थी भर्ना हुन चाहेनन् । यसले पनि गण्डकी मेडिकल कलेजको प्रतिष्ठा माथि प्रश्न उठाएको छ । स्थापना काल देखि नै विभिन्न समस्या र विवाद झेल्दै आएको गण्डकी मेडिकल कलेजले आफ्नो प्रतिष्ठान सुधार गर्न जनविश्वास हासिल गर्न आफ्नो प्रशासन र व्यवस्थापनमा व्यापक सुधार गर्न जरुरी छ । राज्यका जिम्मेवार निकाय र सरोकारवाला पक्ष हरु वीच तत्काल समस्याका समाधान गरि विधि र प्रकृयामा टेकेर निकास दिनु जरुरी छ । अत्यावश्यक सेवा ऐन अनुसार सञ्चालित संस्थाहरु विधि अनुसार सञ्चालन गर्न सकिएन भने त्यसले अराजकतालाई गोडमेल गर्ने र त्यसको नकारात्मक नतिजा सिर्जना गराउन मद्धत गर्छ समयमै ध्यान जानु जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित