मतदान केन्द्रमा क्यामेरा र मोबाइल लैजान नपाइने

Election-commision_Nirbachan
काठमाडौं ।
निर्वाचन आयोगले निर्वाचनका क्रममा मतदान केन्द्रमा क्यामरा, मोबाइल लगायतका निषेधित वस्तु लैजान नपाइने निर्णय गरेको छ । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका क्रममा कसैले क्यामरा वा मोबाइल बोकेर मतदान कक्षमा गएमा तत्काल क्यामरा वा मोबाइल जफत हुने आयोगले जनाएको छ ।

‘मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउनको निम्ति प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ बमोजिम सर्वपक्षीय बैठकमा समेत छलफल गराई सार्वजनिक आह्वान र अनुरोध गर्ने,’ आयोगले आज विज्ञप्ति जारी गर्दै भनेको छ ।


निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई कानून बमोजिम कारबाहीका लागि सुरक्षा निकायलाई जानकारी दिने पनि आयोगको भनाइ छ ।

त्यस्तै प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९, निर्वाचन आचारसंहिता, २०७९ विपरीत उल्लिखित कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमार्फत मतदान केन्द्रमा खटिने सबै मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सुरक्षाकर्मीलाई जानकारी गराउने आयोगले निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित