तस्करलाई चोरीको बाइक,इन्सपेक्टरलाई टाटा सफारी गाडी !

romelचितवन । जिल्ला प्रहरी कार्यालय चितवनको नयाँ प्रमुखमा सरुवा भई काम सुरु गरिसकेका एसपी दिपक थापाले गुण्डागर्दी र चोरी गाडीको कारोबार गर्दै आएको गिरोहको कनेक्सन खोतल्न लागिपरेको बेला प्रहरी अधिकारी नै छानविनको घेरामा परेका छन् ।

चोरी गाडीको कारोबार गर्ने गिरोहले  प्रहरीका उच्च अधिकृतहरूसँग राम्रो सम्बन्ध बनाएर उनीहरूकै संरक्षणमा काम गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले फणिन्द्र भण्डारीद्वारा सञ्चालित गाडी शोरुमबाट तीन वटा नक्कली नम्बर ठोकिएका इन्जिन र नक्कली च्यासिस भएको दुई वटा चक्का समेत  बरामद गरेपछि भण्डारी फरार भएका छन् ।

 प्रहरीले स्कार्पियो,टाटा सुमो र स्यान्ट्रोको इन्जिन भण्डारीको शोरुमबाट बरामद गरेको थियो । ति इन्जिनहरू नक्कली भएको प्रहरीको दाबी छ । प्रहरीले भण्डारीको शो रुममा काम गर्ने र उनीसँग गाडी चोरीको कारोबारमा संलग्न मुसे भन्ने बच्चन कार्की, देवनारायण श्रेष्ठ, गंगाबहादुर गुरुङ , शोरुममा काम गर्ने विनय अधिकारी  र सन्तोष परियारलाई पक्राउ गरी अनुसन्धान थालिसकेको छ ।

 एसपी थापाले चोरी गाडीको काम गर्ने गिरोहको कनेक्सन को- को सँग छ भनेर पत्ता लगाउन लागिपरेको बेला उनै मातहतका इन्सपेक्टरले भने बरामद गरेको चोरीको मोटरसाइकल नै तस्करीमा आरोप लागेका व्यक्तिलाई चढ्न दिएको समाचार वाहिर आएको छ ।  दुई महिना अघि वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी हवल्दार उपेन्द्र यादब र जवान खगेन्द्र पाण्डेले देबघाटमा वेवारीसे अवस्थामा रहेको दुई सय ५० सिसीको होन्डा कम्पनीको सिबीआर मोटरसाइकल बरामद गरेका थिए ।

 तर,चोरीको उक्त बाइक भन्सारमा बुझाउनु पर्नेमा नारायणगढका प्रहरी निरिक्षक राजेन्द्र थापाले भने प्रहरीमा दलाली गर्ने विवादास्पद व्यक्ति रोमेल गुप्तालाई उपहार दिएका छन् । गुप्ताले बा.७९.प ८२७९ नम्वरको नक्कली प्लेट हालेर उक्त बाइक चढ्दै आएका छन् ।  चितवनमा जो एसपी आए पनि तुरुन्तै प्रभावमा पारी हाल्ने खुबी भएका गुप्ताले लु. १. च ५७५८ नम्वरको टाटा सफारी गाडी नारायणगढका इन्सपेक्टर थापा र चितवन जिल्लाका घुमुवालाई चढ्न दिएर  प्रहरी संरक्षणमा तस्करीको काम गर्दै आएको चर्चा छ ।

  एक प्रहरी अधिकारीले भने -'इन्सपेक्टर थापा चितवनमा जहाँ जाँदा पनि उक्त गाडी लिएर हिंड्ने गर्दछन,बाहिर सोझा देखिने बानी भएका उनको गुप्तासँग रहस्यमय कनेक्सन रहेछ । '   गैंडाकोटको भेडावारीमा रहेका बियर फ्याक्ट्रीमा केमिकल सप्लाई गर्ने गुप्ताले तस्करी गरेर ल्याएका कच्चा पदार्थहरु प्रहरीले बरामद गर्ने डरले कसैलाई गाडी त कैसैलाई आर्थिक प्रभावमा पारी सप्लाई गर्दै आएको प्रहरी स्रोतको भनाइ छ  ।

 

 

प्रतिक्रिया

सम्बन्धित