फराकिलो जितसहित पोर्चुगल क्वाटरफाइनलमा, विश्वकपमा रामोसको पहिलो ह्याट्रिक

gonsalo-ramos

काठमाडौं । युवा फरवार्डले गोन्सालो रामोसले क्रिस्टियानो रोनाल्डोको स्थानमा पहिलोपल्ट रोजाईमा खेल्दै ह्याट्रिक गरेपछि स्वी्ट्जरल्याण्डलाई ६-१ को फराकिलो गोलअन्तरले पराजित गर्दै पोर्चुगल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

२१ वर्षीय युवा फरवार्ड रामोस जारी विश्वकपमा ह्याट्रिक गोल गर्ने पहिलो खेलाडी समेत बने ।

पोर्चुगिज प्रशिक्षक फर्नाण्डोे सान्तोषले नियमित कप्तान तथा सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो ड्रप गरी युवा फरवार्ड गोन्सालो रामोसलाई राख्ने साहसिक निर्णय लिएका थिए । रामोसले प्रशिक्षकको विश्वासलाई प्रमाणित गरिदिए । उनले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेका थिए ।

रामोसले जाआओ फेलिक्सको पासमा १७औं मिनेटमै गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए ।

रोनाल्डो बेन्चमा हुँदा कप्तानको जिम्मेबारी लिएका डिफेण्डर पेपेले ३२औं मिनेटमा ब्रुनो फर्नान्डेजको कर्नरमा गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे ।

पहिलो हाफमा दुई गोल गरेको पोर्चुगल दोस्रो हाफमा पनि रोकिएन । ५१औं मिनेटमा रामोसले डिएगो डालोटको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगलको अग्रता ३-० बनाए ।

५५औं मिनेटमा राफेल गुरेइरोले रामोसकै पासमा गोल गर्दै पोर्चुगलको अग्रता ४-० पुर्‍याए ।

५८औं मिनेटमा स्वीजरल्याण्डका मानुएल अकान्जीले गोल फर्काउँदै गोल अन्तर घटाएका थिए । तर, ७१औं मिनेटमा रामोसले फेलिक्सको पासमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे भने पोर्चुगलको अग्रता फराकिलो बनाए ।

इन्जुरी टाइममा राफे लिआयोले गोल गर्दै पोर्चुगललाई ६-१ को जित दिलाए ।

पोर्चुगलले अब क्वाटरफाइनलमा अफ्रिकन टिम मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । मोरक्को २०१० को विजेता स्पेनलाई पेनाल्टी शुटआउटमा हराउँदै पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित