वडाध्यक्ष अधिकारीले मैया नेपालीमाथि गरेको जातीय भेदभावको घटनाप्रति विरोध प्रदर्शन

pokhara-mahanagar...
गण्डकी ।
दलित महिला सदस्यमाथि जातीय र्दुव्यवहार गरेको आरोप लागेका पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।

मङ्गलबार सुरु भएको महानगरपालिकाको १२ औँ नगरसभामा दलित समुदायका जनप्रतिनिधिले वडा सदस्य मैया नेपालीमाथि गरेको जातीय भेदभावको घटनाप्रति विरोध जनाएका हुन् ।

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी प्रमुख अतिथि रहनुभएको नगरसभाको उद्घाटन समारोहमै दलित जनप्रतिनिधिले हातमा कालोपट्टी बाँधेर जातीय विभेद विरुद्ध लेखिएका पर्चा देखाएका थिए । उनीहरुले महानगरप्रमुख धनराज आचार्यलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् ।

समारोहमा समय लिएर बोल्दै नगरसभा सदस्य दीपक घिमिरे विश्वकर्माले जातीय विभेद झल्कने गरी वडाध्यक्ष अधिकारीले दलित महिला सदस्यमाथि गालीगलौज र अपशब्द प्रयोग गरेको बताउनुभयो । उहाँले उक्त दुव्र्यवहारको घटना भ्रत्सनायोग्य रहेको भन्दै पीडितले न्याय र पीडिकले सजाय पाउनुपर्ने धारणा राख्नुभयो ।

यही पुस १८ गते वडाको चालु आवको लक्षित बजेट विनीयोजनका विषयमा छलफल हुने क्रममा वडाध्यक्ष अधिकारीले वडा सदस्य नेपालीमाथि जातीय आधारमा भेदभावजन्य व्यवहार गरेको आरोप पीडित पक्षले लगाएको छ ।

उक्त घटनालाई लिएर नगरसभा सदस्य नै विरोधमा उत्रेपछि केहीबेर नगरसभा प्रभावित बनेको थियो । आफूमाथि जातीय भेदभाव र दुव्र्यवहार भएको भन्दै वडा सदस्य नेपालीले दिएको जाहेरीका आधारमा प्रहरीले वडाध्यक्ष अधिकारीमाथि अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित