नारायणगढ–मुग्लिन सडक बन्द हुँदै

narayangadh-muglingकाठमाडौं : नरायणगढ–मुग्लिन सडक पुस ७ गतेदेखि दैनिक चार घण्टा बन्द गरिने भएको छ । निर्माण कार्य भइरहेको उक्त सडक खण्डमा तिब्र गतिमा निर्माण कार्य अगाडि बढाउनका लागि भन्दै मध्यान्ह ११ बजेदेखि दिउँसो तीन बजेसम्म बन्द हुने भएको हो। नारायणगढ–मुग्लिन सडक आयोजनाले बिहीबार सूचना निकालेर यसको जानकारी गराएको हो। अर्को सूचना ननिस्कदासम्म बन्द कायम रहने आयोजनाले जनाएको छ। गत वर्ष माघ अन्तिमदेखि सो सडक यसरी नै बन्द भएको थियो। जुन समयसीमा असारमा मात्रै हटेको थियो। नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारको काम भइरहेको छ। विस्तारको कामलाई असर नपुगोस् भन्नका लागि सडकमा केही समय यातायात सञ्चालन बन्द नै गर्नुपर्ने अवस्था आएको सडक निर्माण आयोजनाले जानकारी गराएको छ। आयोजनाद्धारा जारी सूचनामा ‘यो सडक देशकै प्रमुख र संवेदनशिल सडक हो। निर्माणमा जति ढिलाई भयो त्यसको असर देश र सर्वसाधरणलाई पर्न जाने भएका कारण चाडो काम सक्नका लागि पनि यस्तो समयसीमा तोक्नुपर्ने अवस्था सिर्जना भएको हो’ उल्लेख छ । उक्त सडक खण्ड राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरलाई पूर्वी र पश्चिम नेपालसँग जोड्ने मुख्य मार्ग हो। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरेर विभिन्न निर्माण कम्पनीसँग सन् २०१५ को अप्रिलमा सरकारले सम्झौता गरेको थियो। तर, निर्माणमा लक्ष्य अनुरुप काम भएको भने छैन। भूकम्प र नाकाबन्दीका कारण निर्माण सम्पन्न गर्ने नयाँ मित सन् २०१७ को सेप्टेम्बरसम्म पुर्‍याइएको थियो।

प्रतिक्रिया

सम्बन्धित