मानुङकोटमा दश फिट अग्लो नेपालको झण्डा

Damauli-Nepalflag-E2023-01-12-07-01-59

तनहुँ  ।

तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा नेपालको झण्डा राखिएको छ । पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको मानुङकोटको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित टिम नेपो तनहुँले ३०१औँ पृथ्वीजयन्तीको अवसरमा मानुङकोटमा दश फिट अग्लो झण्डा राखेको हो । झण्डाको आज व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले अनावरण गर्नुभयो ।

सो अवसरमा नगरप्रमुख न्यौपानेले पर्यटकीय सम्भावनायुक्त मानुङकोटलाई थप प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालको झण्डा राखिएकामा संस्थाको प्रशंसा गर्नुभयो । स्वास्थ्य, शिक्षा, वातावरण र युवा नेतृत्व विकासको क्षेत्रमा संस्थाले खेल्दै आएको भूमिका सकारात्मक रहेको न्यौपानेको भनाइ थियो ।

टिम नेपो तनहुँका अध्यक्ष रवि अधिकारीले मानुङकोट पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहेको अवस्थामा एउटा इँटा थप्ने उद्देश्यसहित नेपालको झण्डा राखिएको बताउनुभयो ।

 

सूर्योदय र कुहिरोको दृश्य हेर्न यहाँ पर्यटक उक्लिने गरेका छन् । अन्य दिनभन्दा शनिबार मानुङकोटमा पर्यटकको चाप बढ्ने गरेको छ । शनिबारको दिन करिब पाँच हजार पर्यटक यहाँ पुग्छन् । मानुङकोटबाट कुहिरो, सूर्योदय र हिमालको मनोरम शृङ्खला देखिने भएकाले पर्यटकको चहलपहल बढेको हो । मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले पनि आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन् ।

 

दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित