गुण्डासामु किन झुके एसपी थापा ?

spthapaeभरतपुर ।  वीरेन्द्र बहुमुखी क्याम्पसका सहप्रशासक राजेन्द्रराज पोखरेललाई कुटपिट गर्ने गुण्डा नाइके बचन कार्की 'मुसे'लाई चितवन प्रहरीले पक्राउ गरेकै दिन छाडेको छ  । मुसेलाई अाइतवार पक्राउ गरी सार्वजनिक अपराधमा मुद्दा चलाउन खोज्दा चितवनका एसपी दीपक थापाले शक्तिकेन्द्रको दवाबमा परी ससम्मान छाडेको प्रहरी स्रोतले जनाएको छ ।

 कर्मचारी कुट्ने डनलाई  छाडेपछि आफूलाई बाघ र गुण्डालाई फ्याउरोको संज्ञा दिंदै आएका एसपी थापाको क्षमता पनि देखिएको छ ।  सहप्रशासक पोखरेलमाथि हातपात गर्दा पनि प्रहरीले राजनीतिक दबाबमा मुसेलाई पक्राउ गरेको थिएन । तर, अनेरास्ववियूका विद्यार्थीहरुले क्याम्पसमा अनिश्चितकालिन तालाबन्दि गरेपछि प्रहरीकै बेइज्जत हुने डरले मुसेलाई पक्राउ गरिएको थियो ।

 गुण्डागर्दी र आपराधिक पृष्ठभूमिका मुसे गृहमन्त्री विमलेन्द्र निधी र बन मन्त्री शंकर भण्डारी निकट मानिन्छिन् । चितवन प्रहरी प्रमुखमा एसपी दिपक थापा आएपछि गुण्डागर्दी र आपराधिक क्रियाकलाप गर्नेहरुको मनोबल एकाएक बढेर गएको छ । किनकी, थापा नम्र स्वभाव र सबैले पहुँच पुर्याउन सक्ने एसपीका रुपमा चिनिन्छन् ।

एसपी थापा माथि काम भन्दा स्वागत जस्ता सार्वजनिक कार्यक्रममा बढि हिड्ने गरेको आरोप लागिसकेको छ । उनले आफू आउनासाथ चितवनमा बाघ आएको र फ्याउरे गुण्डाहरु दुलोभित्र पसेको पत्रकारहरुलाई बताएका थिए । तर, अहिले बाघ भित्र र फ्याउरेहरु बाहिर भएको मुसे डनको घटनाले पनि देखाएको छ । एसपी बसन्त कुँवरको कार्याकालमा चितवनका गुण्डाहरुको शिर निहुरिए पनि अहिले भने उनीहरुको मनोबल बढेर गएको छ ।

प्रतिक्रिया

सम्बन्धित