किन हुन्छ नेपाल र भारतका अपराधीलाई फाइदा ?

  acrimeकाठमाडौं ।   दुई साताअघि वीरगन्जमा प्रहरीले भारतको उत्तर प्रदेश हरदोई जिल्लाका एसपी चढ्ने सरकारी गाडी नै चोरी गरी नेपाल ल्याएका भारतीय नागरिक मो. समिम अख्तरलाई पक्राउ गर्‍यो । विहारको पूर्वी चम्पारण ढाका थाना निवासी अख्तरबाट दुई थान हतियार र २३ राउन्ड गोलीसहित बरामद भयो । अख्तरले लखनउ नजिकैको हरदोईका एसपी चढ्ने यूपी ३० जी ०२१९ नम्बरको सेतो गाडी रेडियो सेट र बत्तीसहित चोरी गरी कात्तिक २० गते नेपाल ल्याएका थिए । यो गाडी रौतहटबाट बरामद भएको थियो ।

 ६ वर्ष जेल सजाय काटिसकेका अख्तर पुनस् भारतीय प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा परेपछि वीरगन्जमा बसेर पारि अपराध गर्ने गरेका थिए ।  कात्तिक ३० गते ।

 झिसमिसेमै बाराको इनर्वा– १ स्थित लालबकैया खोला किनारमा प्रहरी र हतियारधारीबीच भिडन्त भयो । भिडन्तमा एक भारतीयको मृत्यु भयो । विहार ढाका थाना कोरैयालौखान निवासी ४४ वर्षीय तेजीलाल साहको गोली लागेर ज्यान गयो ।

 घटनास्थलबाट एक थान आधुनिक इन्सास राइफल, त्यसमा लोडेड १५ थान गोली र २ थान पेस्तोल बरामद भएको थियो । भारतीय हतियारधारी समूह नेपाल प्रवेश गरेको सूचनाका आधारमा विशेष टोली सीमा क्षेत्रमा तैनाथ गरिएको थियो ।     गत असोज २३ गते राति करिब ८ बजे वीरगन्ज उपमहानगरपालिका– १८ शिरोमणि टोलको पूर्वपट्टि रहेको नहर चोकमा प्रहरी कारबाहीमा भारत विहार पूर्वी चम्पारणको समस्तीपुर निवासी २८ वर्षीय दिलसाद अहमदको मृत्यु भयो । अहमदले अपराधको योजना बनाइरहेको सूचना पाएपछि प्रहरीले मोटरसाइकलमा सवार उनलाई रोक्न खोज्दा गोली चलाएका थिए । गोली हानाहानपछि मोटरसाइकलबाट लडेका अहमदको घनास्थलमै मृत्यु भएको थियो । मोटरसाइकल चालक फरार भए । अहमदको साथमा भारत सरकारको आधार कार्ड र गोली लोड भएको एक थान पेस्तोलसहित ४ राउन्ड गोली बरामद भएको थियो ।

 अहमद ६ महिनाअघि मात्र वीरगन्जका उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न थिए । केडिया अर्गनाइजेसनका सुरेश गत जेठ १३ गते साँझ वीरगन्जतर्फ फर्किने क्रममा पसाहा पुल नजिकैबाट अपहरणमा परेका थिए । भारतको मोतीहारी जेलमा रहेका कुख्यात अपराधी बब्लु दुबेको योजनामा अहमद र उनको समूहले केडियालाई नेपालबाट उठाउने र नाका कटाएर विहार पुर्‍याउने जिम्मा पाएको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

  नेपाल र भारतका प्रहरीको सक्रियतामा केडिया चार दिनपछि मोतीहारी नजिकबाट मुक्त भएका थिए । विहारको समस्तीपुरका अहमदले केडिया अपहरण प्रकरणभन्दा अगाडि हातहतियार तथा खरखजाना र डाँका मुद्दामा झन्डै साढे ३ वर्ष वीरगन्ज कारागारमा कैद सजाय भोगिसकेका थिए । खुला सीमाका कारण नेपालका अपराधी भारतमा र भारतका अपराधी नेपालमा लुकेर बस्दै आएका छन् । सीमापार अपराध नेपाल र भारत दुवै देशका लागि टाउको दुखाइको विषय बन्दै आएको छ ।

 एसपीकै गाडी चोरी भएपछि विहार मोतीहारीका एसपी जितेन्द्र राणा र हरदोईका एसपी राजीव मल्होत्रा वीरगन्ज आएका थिए । खुला र अव्यवस्थित नाकाले दुवै देशका अपराधीलाई फाइदा पुर्‍याएको भन्दै उनीहरूले सीमामा हुने अपराध नियन्त्रणका लागि निगरानी प्रहरीबीच समन्वय हुन आवश्यक रहेको बताएका थिए ।- आजको कान्तिपुरमा समाचार छ

प्रतिक्रिया

सम्बन्धित