निर्वाचनबाट नै संविधानको कार्यान्वयन : प्रधानमन्त्री

prachanda11काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध, जनआन्दोलन लगायतका बलिदानीपूर्ण संघर्षका उपलब्धि संस्थागत गर्न संविधानको कार्यान्वयन अपरिहार्य भएको बताएका छन् । निर्वाचनबाट नै संविधान कार्यान्वयन हुने बताउँदै उनले सरकार निर्वाचनको मिति घोषणाको अन्तिम तयारीमा रहेको समेत बताएका छन् । शुक्रबार बिहान सुर्खेतको बिरेन्द्रनगरमा पार्टीनिकट अगुवा कार्यकर्ताहरुसँगको भेटमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले भने–‘संशोधन प्रस्तावको सीमाङ्कन हेरफेरको विषयलाई लिएर जुन आन्दोलन भइरहेको छ, यसका पछाडि ठूलो षड्यन्त्र छ ।’ आन्दोलनबाट संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता लगायत जे–जति उपलब्धिहरु माओवादीको पहलमा भयो, ती सबैलाई उल्ट्याउने षड्यन्त्र त छैन ? भन्दै उनले प्रश्न समेत गरेका छन् । संघीयता, गणतन्त्र, समावेशी र समानुपातिकता मन नपरेकाहरुले नै बखेडा झिकेर आन्दोलन गरिरहेको उनले बताए । कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले भने–‘निरास हुनुपर्ने कुनै कारण छैन, नयाँ जोश, जाँगर र उत्साहका साथ चुनावको तयारीमा जुट्न कमरेडहरुलाई आग्रह गर्दछु । हामी बलियो भएनौं भने सबै उपलब्धि उल्टिने खतरा छ । हामी बलियो भयौं, सक्रियतापूर्वक लाग्यौं, जनतालाई एकतावद्ध बनायौं भने मात्रै हामीले राष्ट्रलाई एकताबद्ध पार्न सक्छौं ।’

प्रतिक्रिया

सम्बन्धित