एसएसपी थापाको ‘थ्री एस’ रणनीति सफल

bikram thapaकाठमाडौं । महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाले मंसिर ३० बाट उमेर हदका कारण अवकाश पाउने भएका छन् । थापा जस्ता निडर, कर्तव्यनिष्ठ र अब्बल प्रहरी अधिकृतको अबकाश हुन लागेपछि प्रहरी संगठन मात्र नभई जनस्तरमा समेत खल्लो महसुस हुन थालिसकेको छ । किनकी, थापाको कार्यकालमा काठमाडौं बासीहरुलाई शान्ति सुरक्षा र अमनचयनको महसुसमा कुनै कमि भएन ।

अब उनी जस्तै सक्षम प्रहरी अधिकारी परिसरमा आउलान या नआउलान ? त्यो भने समयक्रमले नै देखाउने छ । झण्डै डेढ वर्ष अघि काठमाडौं परिसरको कमाण्ड सम्हालेपछि एसएसपी थापा निकै चर्चामा आए । जहाँ गयो त्यहि राम्रो काम गरेर हाइहाई हुँदै आएका एसएसपी थापा काठमाडौं परिसरको कमाण्ड सम्हालेपछि कालोबजारी, संगठित अपराध र तस्करी नियन्त्रण जस्ता अवैध क्रियाकलापलाई प्राथमिकतामा राखेर अगाडि बढेका थिए । काठमाडौंको अपराध नियन्त्रणका लागि उनले ‘थ्री एस’ को रणनीति सार्वजनिक गरेका थिए ।

जुन कुरा उनले लागु गरेरै छाडे । पहिलो चरणमा ‘स्वीप’ अर्थात् अपराधीलाई नियन्त्रणमा लिने, दोस्रोमा ‘स्क्रिनिङ’ अर्थात् अपराधको पृष्ठभूमि केलाउने र अपराधिक गतिविधि त्याग्न सचेत गराउने । यी दुई चरणमा पनि गुण्डाहरु नसुध्रिएको खण्डमा अन्तिममा तेस्रो ‘एस’ प्रयोग गर्ने उनले बताएका थिए । एसएसपी थापाले तेस्रो ‘एस’मा ‘सुटआउट’ लाई राखे पनि सुटआउटको प्रयोग भने उनले गर्नु परेन । किनकी गुण्डागर्दीमा लागेका नाइकेहरुमध्ये कतिपय काठमाडौं छाडेर भागेका छन् भने कतिपय गुमनाम छन् । यद्यपी एसएसपी थापाले आफ्नो गुण्डागर्दी बिरुद्धको रणनीति सफल भएको पनि बताएका छन् ।

संगठित कालोबजारी विरुद्ध कारबाही गरी चर्चा कमाएका थापाले शान्ति सुरक्षा मात्र नभई जनहितको पक्षमा काम गर्ने अभियान नै चलाए । दशैंको समयमा काठमाडौंबाट बाहिर जाने यात्रुहरुले भोग्नु परेको समस्याको पनि उनले समाधान गरेरै छाडे । आफै कहिले नयाँ बसपार्क त कहिले चावहिल काउन्टरमा पुगेर प्रत्यक्ष निगरानी गरी बढि भाडा लिने र जथाभावी यात्रु कोच्ने सवारीसाधनमाथि कारबाही गरेर जनताको मन जित्न सफल भए ।

दशैंको समयमा प्रहरीको सक्रियताकै कारण चोरी, डकैती र लुटपाटमा समेत कमी आएको थियो । त्यसो त विक्रमसिंह थापा जहाँ पुग्थे, त्यहाँ गुण्डा र पेशेवर अपराधीको भागाभाग हुन्थ्यो । नेपालगञ्जमा घर भत्काएर ६ लेनको बाटो बनाउने देखि रुपन्देहीमा पेट्रोलमा मिसावट गर्ने, कालोबजारी गर्ने, गिट्टी र बालुवाको तस्करी रोकेर राज्यलाई तीन अर्व फाइदा दिलाउने अब्बल प्रहरी अधिकृत हुन एसएसपी थापा । राजधानीमा शान्ति सुरक्षाको जिम्मेवारी सँगसँगै उनले खाने तेल उत्पादन गर्ने कम्पनी दुगडको कालोबजारीलाई शक्ति केन्द्रको दबाबका बाबजुद पनि तहस नहस बनाए ।त्यसैगरी, पुराना कहलिएका गुण्डा नाइके दिपक मनाङ्गे र उनका सहयोगी राजनकुमार सिंहलाई संगठित अपराधमा मुद्दा चलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि अन्य गुण्डा नाइकेहरुको समेत सातो गयो । एसएपी थापाले गुण्डा नाइकेबिरुद्ध पहिलो पटक संगठित अपराधको मुद्दा चलाउने रणनीति अपनाए । जुन रणनीतिमा उनी सफल पनि ठहरिए । महानगरिय प्रहरी परिसरको कडा रबैयालाई अदालतले पनि साथ दिएका कारण गुण्डा नाइकेहरुको सातो गएको हो ।भारतीय नाकाबन्दीको समयमा देशमा कालोबजारी गरी ठगी गर्ने व्यापारिक घराना केएल दुगड समूहलाई कारबाही गरेर उनले सफलता मात्र हासिल गरेनन् जनताले समेत राहतको महसुस गरे । त्यसैगरी हतियार कारोबारीलाई पनि उनले ठेगान लगाएपछि काठमाडौंमा अवैध हतियार कारोबार रोकिएको छ । एसएसपी थापालाई उत्कृष्ट कार्य गरेको भन्दै महानगरिय प्रहरी दिवसको अवसरमा आईजीपी उपेन्द्रकान्त अर्यालले सम्मान समेत गरेका थिए ।  यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित