प्राधिकरण आक्रामक बन्दा भक्तपुर अन्धकार

electricityभक्तपुर : नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखाले विद्युत् चोरी गर्ने, मिटर जडान नगरी विद्युतको प्रयोग गर्ने र कालोसूचीमा रहेकाको विद्युत्लाइन काट्ने अभियान तीब्र पारेको छ । विद्युत् चुहावट नियन्त्रण गर्न र बाँकी बक्यौता असुली गर्ने अभियान सुरु गरेको प्राधिकरणले विद्युत् लाइन काट्न थालेपछि सिङ्गो गाउँ नै अध्यारो हुन थालेको छ । प्राधिकरणको अभियानअन्तर्गत लाइन काट्न थालेपछि नगरकोट नगरपालिका– ११ र १२ मा पर्ने बेँसीटोलका १०० घरमा विगत नौ दिनदेखि अँध्यारो भएको छ । प्राधिकरण भक्तपुर शाखाका प्रमुख विक्रम अमात्यले अत्यधिक हुकिङ गरी विद्युत् चोरी गर्ने गरेको, मिटर नै नहाली विद्युतको प्रयोग गर्ने गरेको र लामो समयदेखि विद्युत् महसुल नबुझाई कालोसूचीमा परेका ग्राहकको विद्युत् लाइन काटिएको बताए । उनले भने–‘नगरकोटका बेँसी टोलका करिब १०० घरको लाइन काटिएको छ, उहाँहरुले कार्यालयमा आएर विद्युत् चुहावट नगर्ने, मिटर जडान गर्ने र महसुल बुझाउने प्रतिबद्धता गर्नुभएको छ, अब केही दिनमै पुनः लाइन सञ्चालन गरिदिन्छौँ ।’ यता, चाँगुनारायण नगरपालिका–१० खोरिया टोल र छापमा करिब १०० घरका काटिएको विद्युत् लाइन प्राधिकरणले नौदिनपछि पुनः सुचारु गरेको छ । यस क्षेत्रमा पनि अत्यधिक हुकिङ गरी विद्युत् चोरी गर्ने गरेको, मिटर नै नहाली विद्युत्को प्रयोग गर्ने गरेको र लामो समयदेखि विद्युत् महसुल नबुझाई कालोसूचीमा परेका ग्राहकको विद्युत् लाइन काटिएको थियो । लाइन काटिएपछि स्थानीय उपभोक्ताले विद्युत् चोरी नगर्ने प्रतिबद्धता जनाउँदै मिटर जडान गर्न आवेदन दिने र बाँकी महसुल बुझाउन थालेपछि लाइन पुनः सुचारु गरेको शाखा प्रमुख अमात्यले जानकारी दिए । प्राधिकरण भक्तपुर शाखाले विद्युत् चुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत बढी विद्युत् चुहावट हुने क्षेत्र भक्तपुर नगरपालिकाका विभिन्न टोल, नगरकोट, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका विभिन्न क्षेत्रमा आकस्मिक अनुगमन गरी कारबाही गर्ने कार्यलाई तीव्र पारेको छ । यसअन्तर्गत हालसम्म विद्युत् चुहावटमा संलग्न रहेकामध्ये ४८ जनालाई कारबाही गरी जरिवाना लगाएको र त्यसमध्ये मङ्सिरमा मात्रै २२ जनालाई कारबाही गरिएको अमात्यले जानकारी दिए। विद्युत् चुहावट नियन्त्रण अभियानलाई अझै सशक्त बनाउन शाखाले स्थानीय युवा क्लब, राजनीतिक प्रतिनिधि र सामाजिक संस्थासँग समन्वय गर्ने भएको छ । हाल भक्तपुरमा ३३ प्रतिशत चुहावटलाई घटाउन सफल भएकोमा क्लबलगायत विभिन्न निकायको साथ लिँदै यस वर्षभित्रमा चुहावटलाई शून्यमा झार्ने उद्देश्य अनुसार काम भइरहेको शाखा प्रमुख अमात्यले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित