२०औं दिनसम्म पनि डा. केसीप्रति वेवास्ता ?

dr-govinda-kchunger-strikeकाठमाडौं : डा. गोविन्द केसी आमरण अनशनमा बसेको आज २०औं दिन भएको छ । २० दिनसम्म पनि सरकारले केही गर्न सकेको छैन । डा. केसीसँग बिहीबार नै सहमति गरेर अनसन तोडाउने सरकारी प्रयास अफसल भएको थियो । स्वास्थ्यमन्त्री गगनकुमार थापा र शिक्षामन्त्री धनिराम पौडेलसहितको उपस्थितिमा सिंहदरवारमा राति अबेरसम्म भएको वार्ता सहमति नजिक पुगेर पनि टुंगिन सकेन । प्रधानमन्त्री प्रचण्डसँगको छलफलपछि सरकारी टोलीले चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन केपी सिंहलाई राजीनामा गराएर भएपनि बिहीबार नै सहमति गर्ने र डा. केसीको अनसन तोडाउने तयारी गरेको थियो । तर, त्यो सफल हुन सकेन र आज विहान १० बजे पुनः छलफल गर्ने भनिएपनि अझै छलफल हुन सकेको छैन । सरकारका तर्फबाट स्वास्थ्यमन्त्री गगनकुमार थापा, शिक्षामन्त्री धनीराम पौडेल, सचिवद्वय डा सेनेन्द्रराज उप्रेती र शान्तबहादुर श्रेष्ठ लगायत तथा गत २० दिनदेखि चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै दसौँ पटक अनशन बसेका प्रा डा केसीका तर्फबाट प्रा डा राजेन्द्रराज वाग्ले लगायत चिकित्सक वार्तामा रहेका थिए । बैठक १० बजेको लागि बोलाईएको भएपनि त्रिभुवन विश्वविद्यालयलले तयारी पूरा नभएको जनाएकोले अहिलेसम्म बस्न सकेको छैन । सरकारी वार्ता टोली स्रोतका अनुसार आज दिउँसोसम्ममा सहमाति गरेर अनसन तोडाउन प्रयास हुनेछ ।  तर, डा. केसीले डिनमा जेपी अग्रवाल नै हुनु पर्ने अडान राखेकाले समस्या हुनसक्ने एक अधिकारीले बताए ।त्रिवि पदाधिकारीहरुले भने मापदण्ड अनुसार जो आएपनि डा. केसीले स्वीकार गर्नु पर्ने बताएका छन् । डा. केसीका अन्य मागबारे भने वार्ता टोली स्तरमा लगभग सहमति भएको भनिएको छ । वरिष्ठताका आधारमा डिन नियुक्ति लगायतका ९ बुँदे माग राखेर डा. केसी २० दिनदेखि अनसनमा छन् । उनको अवस्था गम्भीर बन्दै गएको छ । डा. गोविन्द केसीको समर्थनमा देशभरका चिकित्सकले बिहीबार एक घण्टा अस्पताल र स्वास्थ्य केन्द्रहरूमा सेवा बन्द गरे । संघको आह्वानमा सबैजसो सरकारी, निजी शिक्षण अस्पताल, मेडिकल कलेजहरू, नर्सिङ होम, क्लिनिकलगायतमा बिहान १० देखि ११ बजेसम्म आकस्मिकबाहेकका सेवा बन्द गरिएको हो । सरकारबाट कुनै निर्णायक कदम नउठाइएकाले शुक्रबार बिहान १० बजेदेखि १२ बजेसम्म २ घण्टाका लागि आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्न हिजै आह्वान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित