ढोरपाटन पुगे ९ हजार पर्यटक

Dhorpatan2
गलकोट ।
यस वर्ष ९ हजार पर्यटक ढोरपाटन पुगिसकेका छन् । पर्यटकीय गन्तव्य ढोरपाटन घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

चालु आर्थिक वर्ष २०७९र८० को फागुन तेस्रो सातासम्म ९ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन भ्रमणमा आइसकेको ढोरपाटन शिकार आरक्षका सूचना अधिकारी मन्दिप पङ्गेनीले जानकारी दिए । नेपालको एक मात्र शिकार आरक्ष क्षेत्र अवलोकनका लागि आउने विदेशी तथा स्वदेशी पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि हुँदै गएको छ ।

ढोरपाटन क्षेत्रमा बर्सेनि पर्यटकको सङ्ख्यामा वृद्धि हुँदा शिकार आरक्ष कार्यालयको राजस्वमा समेत उल्लेख्य वृद्धि भएको हो । ढोरपाटन शिकार आरक्षले विदेशी तथा नेपाली पर्यटकको आगमनको तथ्याङ्कलाई व्यवस्थित गर्दै गएको छ । गत आवमा ६ हजार बढी जनाले ढोरपाटनको अवलोकन गरेकामा चालु आवको अन्त्यसम्म त्यो सङ्ख्या बढेर दोब्बर पुग्ने देखिएको छ ।

ढोरपाटन शिकार आरक्षको तथ्याङ्कअनुसार आरक्ष अवलोकनका लागि आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । कुनै दिन ढोरपाटनमा शिकार खेल्न मात्रै पर्यटक आउने गरेकामा पछिल्लो समय शिकार आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेलढोर र ढोर वराम मन्दिर अवलोकनका लागिसमेत पर्यटक आउने गरेका छन् ।

विदेशी शिकारी शिकार खेल्नका लागि हेलिकप्टरमार्फत सोझै आरक्ष क्षेत्रमा पुग्ने गरे पनि सडकको पहुँच, होटल सुविधा तथा प्रचारप्रसारसँगै आन्तरिक तथा बाह्य पर्यटक घुम्नका लागिसमेत त्यहाँ पुग्न थालेका छन् । वैधानिकरुपमा नाउर र झारलको शिकार खेल्न पाइने आरक्ष क्षेत्र प्रवेशमा नेपाली र बाह्य पर्यटकले प्रवेश शुल्क तिर्नुपर्छ । सूचना अधिकारी पङ्गेनीका अनुसार आरक्षमा पुग्ने विदेशी पर्यटकको मात्रै तथ्याङ्क राख्दै आएकामा दुई वर्षदेखि आन्तरिक पर्यटकको पनि तथ्याङ्क राख्न थालिएको छ ।

विदेशी पर्यटकलाई प्रवेश शुल्क नियमअनुसार छ भने नेपालीलाई प्रतिव्यक्ति रु एक सय छ । आव २०७७र७८ मा छ हजार सात सय तीन स्वदेशी र विदेशी पर्यटक आरक्ष क्षेत्रमा आएका थिए भने चालु आव २०७८र७९ मा नौ हजार नौ सय १९ पर्यटक शिकार आरक्ष क्षेत्रमा आइसकेका छन् । यो वर्ष १२ हजारको हाराहारीमा पर्यटक पुग्ने पङ्गेनी बताउछन् ।

ढोरपाटन प्रवेशस्थल देउरालीमा यसअघि बाह्य पर्यटकले शुल्क तिरेर प्रवेश पाउने गरेकामा आव २०७७र७८ आन्तरिक पर्यटकले समेत रु एक सय प्रवेश शुल्क तिर्ने प्रावधान बनाइएको छ । आव २०७२र७३ मा ९१, आव २०७३र७४ मा एक सय ३९, आव २०७४र७५ मा एक सय १९, आव २०७५र७६ मा चार सय ८० तथा आव २०७६र७७ मा तीन सय २० विदेशी पर्यटक यहाँ घुम्न आएका थिए ।

यस्तै ढोरपाटन आउने पर्यटकसँगै राजस्वमा समेत उल्लेख्य वृद्धि भएको छ । आरक्षको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७०र७१ मा रु चार लाख १० हजार, आव २०७६र७७ मा रु छ लाख ६८ हजार, आव २०७७र७८ मा रु २० लाख २२ हजार तथा चालु आवको हालसम्ममा रु २२ लाख १९ हजार राजस्व सङ्कलन गरेको छ । राजस्व वन्यजन्तु विभागमा जम्मा हुने आरक्षले जनाएको छ । ढोरपाटनमा शिकार खेल्न, ढोरपाटन उपत्यका भ्रमण गर्न, प्रसिद्ध ढोरबारही मन्दिर दर्शन गर्न र शिकार आरक्ष कार्यालयको अवलोकनका लागि पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

यहाँ नाउर र झारलको वैधानिक शिकार खेल्न पाइन्छ । बागलुङ, म्याग्दी र पूर्वी रुकुमसम्म फैलिएको आरक्षको मुख्य कार्यालय बागलुङको ढोरपाटन उपत्यकामा पर्दछ । यहाँ होटल तथा घरबास सञ्चालनमा छन् । शिकार खेल्न विदेशी पर्यटक सोझै हेलिकप्टरमार्फत हिमाली क्षेत्रमा पुग्ने गरेका छन् । ढोरपाटनमा पछिल्लो समय घोडा सफारी र होटल व्यवसायसमेत फस्टाउँदै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित