एमालेसहित विपक्षी दलद्वारा संसद अबरोध, प्रधानमन्त्री संकटमा

samsadकाठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको चर्को विरोध गर्दै संसद समेत अवरुद्ध पारेको छ। बिहीबार बसेको व्यवस्थापिका संसद बैठकमा एमाले उपाध्यक्ष बामदेव गौतमले सरकारले तराईलाई मुलुकबाट अगल गर्ने गरी संशोधन प्रस्ताव ल्याएको भन्दै आपत्ति जनाए। उनले  यस्तो प्रस्ताव कुनै पनि हालतमा अगाडि बढ्न नदिने भन्दै संसद अबरोध गर्ने जनाउ दिएका थिए। गौतमले मुलुकमा निर्वाचन गर्नुपर्ने बेला सरकारले देशलाई अर्कै दिशातर्फ मोड्न र निर्वाचन नहुन दिन सरकारले संशोधन प्रस्ताव दर्ता गरेको आरोप पनि लगाए।  एमालेलाई साथ दिंदै नेकपा माले, नेमकिपा तथा राजमोलागतका दलले व्यवस्थापिका संसद बैठक अबरोध गरेका हुन्। उनीहरुले आफ्नो आशनबाट उठेर विरोध गरेका थिए।  सभामुखले संविधान संशोधन प्रस्तावको विषयमा कार्यसूचिमा नरहेको भन्दै आशन ग्रहण गर्न आग्रह गरेकी थिइन्। तर, प्रतिपक्ष दलहरुले नमानेपछि संसद बैठक शुक्रबार दिउँसो  ३ बजेसम्मकालागि स्थगित गरिएको छ । सरकारले मंगलबार संसदमा दर्ता गराएको संशोधन विधेयकको मधेसी मोर्चालेसमेत विरोध गरिसकेको छ। मधेसी मोर्चाको माग सम्बोधन गर्न भन्दै ल्याइएको संशोधन प्रस्ताव मोर्चाले नै नस्वीकार्ने निर्णय गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार मोर्चा नेताहरूसँग परामर्श गरेका थिए। प्रधानमन्त्रीले संशोधन प्रस्तावलाइ समर्थन गर्न आग्रह गर्दै निर्वाचनमा आउन आग्रह गरेका थिए। तर, मोर्चाले यथास्थितिमा आउन नसक्ने बताइसकेको छ । मोर्चाले पनि नस्वीकारेपछि प्रधानमन्त्री दाहाल संकटमा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित