चितवनमा प्रहरी र तस्करबीच यसरी हुन्छ सेटिङ

achorचितवन । राजधानी काठमाडौंपछि निकै संवेदनशिल मानिएको चितवनमा नयाँ प्रहरी प्रमुख फेरिएसँगै विभिन्न गैरकानुनी धन्दामा संलग्नहरु सक्रिय हुन थालेका छन् । एसपी बसन्त कुँवरको एक वर्ष चितवन बसाईका क्रममा गुण्डागर्दी, चोरी र तस्करी जस्ता अवैध क्रियाकलापमा कमी आएको भएपनि पछिल्लो समयमा भित्रभित्रै अवैध धन्दा मौलाउन थालेका छन् । जिल्ला प्रहरी कार्यालयमा दशौं वर्षदेखि जरा गाडेर बसेका केही प्रहरी अधिकारी र अवैध धन्दा गर्नेहरुबीच भित्रभित्रै कारोबार हुँदा चितवनमा त्यस्ता गिरोहहरुको मनोबल बढ्दै गएको हो । एक हजार भन्दा बढी चोरीका मोटरसाइकल र दर्जनौ गाडीको तस्करी गरेर प्रहरी कारवाहीमा परिसकेको गिरोह फेरी सक्रिय भएको छ । प्रहरीले तस्करीमा संलग्न पूर्वी चितवनका दिपेन्द्र श्रेष्ठ ‘दीपु’, भारतको गोरखपुर थाना स्थित निजापुरका ३४ बर्षिया गुड्डु भनिने मोहम्द आलमलाई दुई बर्ष अघि कारवाही गरेको थियो । अहिले प्रहरीको ध्यान त्यता नपुग्दा यो गिरोह फेरी सल्बलाउन थालेको हो ।

दीपुसँगको सेटिङमा भारत घर भएकै टिएन मिश्र र आलमले भारतबाट चोरीका गाडी र मोटरसाइकल भित्र्याएर चितवन, पर्सा, नवलपरासीदेखी काठमाडौं र ललितपुरसम्म पु-याई बिक्री गर्दै आएको सूचना प्रहरीकहाँ पुगेपनि केही बद्नाम प्रहरी अधिकारीका कारण यो गिरोह कारबाहीमा पर्न सकेको छैन । यो  गिरोहले वीरगञ्ज र भैरहवा भन्सारमा सेटिङ मिलाएर अबैध गाडीको कारोबार समेत गर्दै आएको छ । गिरोहले भारतबाट पुराना तथा नयाँ गाडीहरु चोरी गरी ल्याई बेवारीसे अबस्थाका भन्दै भन्सारमा बुझाउने, कवाडीको भाउमा भन्सार सकार्ने र पछि नयाँ गाडी चोरेर ल्याई त्यसको पाटपुर्जा पुरानो गाडीमा हालेर गाडीको अबैध कारोबार गर्दै आएको छ । गिरोहले बिशेषगरी स्करपियो, बुलेरो, स्यान्ट्रो र मोटरसाईकलको कारोबार गर्दै आएको प्रहरी अधिकारी नै बताउँछन् । दुई बर्ष अघि चितवन प्रहरीले दर्जनौ चोरीका गाडी र मोटरसाइकल सहित विभिन्न बैंकको चेकबुक, छाप, गाडीका नक्कली नम्बर समेत बरामद गरेको थियो ।

तर, अहिले प्रहरीको सक्रियता नहुँदा दीपुको समूहले गिरोह परिचालन गरी काठमाडौं, ललितपुर, भैरहवा, नवलपरासीमा हराएका अधिकांस मोटरसाइकल आफ्नो मनकामना वर्कशप एन्ड रिकन्डिसन हाउसमा ल्याएर पार्टपुर्जा झिकी अबैध कारोबार गर्दै आएको एक प्रहरी अधिकारीले बताए  ।  यूनाइटेड पोष्ट साप्ताहिकमा समाचार छ । दीपुले ग्लोवल आईएमई बैंक लुटपाट काण्डका अभियुक्त काठमाडौं बानेश्वर बस्ने टिका थापा मगर, खोल्डे भन्ने सुभराज थापा मगर र उदयपुर घर भएका श्याम थापा भन्ने सुमित लामालाई परिचालन गरी काठमाडौंबाट हराएका मोटरसाइकल चितवनमा ल्याई पाटपुर्जा परिवर्तन गरी नयाँ बनाएर पुनः काठमाडौंमै लगेर विक्री गर्दै आइरहेको स्रोत बताउँछ ।चितवनका पुराना र नयाँ घुमुवा प्रहरीदेखी गुण्डा नाइकेसम्म सेटिङ मिलाएर गिरोहले  अबैध कारोबार गर्दै आएको छ । दीपुले घरमा नै चोरीका मोटरसाइकल भित्र्याउँदा समेत प्रहरीले उनलाई कारबाही गर्न सकेको छैन । जगतपुरमा मनकामना वर्कशप एन्ड रिकन्डिसन हाउस, बकुलहर टाँडीमा मनकामना रिकन्डिसन हाउस र बकुलहर टाँडीमै मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर खोलेर दीपुले चोरीका गाडी र मोटर साइकलको अबैध कारोबार तथा नक्कली लाइन्सेन्स र बिलबुकको अबैध धन्दा गर्दै आएको खुलेको छ । यस्ता धन्दा गर्नेहरुलाई अन्य जिल्लामा सरुवा भएपनि वर्षौंदेखि चितवनमा नै एकछत्र राज गर्दै आएका बद्नाम प्रहरी अधिकारीले संरक्षण दिंदै आएको प्रहरी स्रोत नै उल्लेख गर्छ । अवैध धन्दा गर्नेहरुबाट पैसा असुलेकै भरमा सई देवराज शर्माले जागृति चोकमा तीन तल्ले घर बनाएका छन् । वडा प्रहरी कार्यालय पर्सा वीरगञ्जमा दरवन्दी भएका शर्माले मध्य क्षेत्रका डिआईजी पशुपति उपाध्यायलाई खुसी बनाएकै भरमा चितवनमा थमौती पाएको स्रोत बताउँछ । चार वर्षदेखि उनले जिल्ला प्रहरी कार्यालय चितवनको विशेष शाखामा बसेर काम गर्दै आएका छन् । त्यस्तै सिपाही हुँदा देखि नै चितवनमा बस्दै आएका झलक श्रेष्ठ अहिले सई भइसकेका छन् । पोखराको सशस्त्र प्रहरी गणमा सरुवा भएका श्रेष्ठले जिल्लामा बर्षैपिच्छे परिवर्तन हुने एसपीहरुलाई रिझाएर चार वर्षदेखि प्रशासन शाखामा मस्ती मार्दै आइरहेका छन् । त्यस्तै मकवानपुर दरबन्दी भएका असई धर्मप्रसाद पौडेल पनि शक्तिकेन्द्रलाई रिझाएकै भरमा १५ वर्षदेखि चितवनकै विभिन्न स्थानमा कार्यरत छन् । चितवन बसेर जुवाडे, काठ तस्कर, लागूऔषध तस्करदेखि चोरीका गाडिको गिरोहसम्म सम्बन्ध गाँसेर करोडौं सम्पत्ति कमाएक यि प्रहरी अधिकारीहरुको पहुँच आईजीपीको सचिवायलसम्म पुगेका कारण उनीहरुको सरुवा जहाँ भएपनि कहिल्यै पनि चितवन छाड्नु पर्दैन । त्यस्तै, नेपाल सरकारले मुख्यराजमार्ग (हाइवे) मा सडक विभागको बाहेक अन्य कुनै पनि ढाँट (तगरा)हरु राख्न नपाइने नियम लागु गरेपनि चितवनमा भने उक्त नियम कार्यान्वयन हुन सकेको छैन । चितवन जिल्लाको नारायणगढ मुग्लीन सडक खण्डको रामनगर र भरतपुर हेटांैडा सडक खण्डको भरतपुरकै गोन्द्राङ्गमा भने अहिले पनि मुख्य राजमार्गको छेउमा घुम्ती राखी अबैध असुलीको काम भईरहेको छ । नजिकै रहेका ट्राफिक पोष्ट र प्रहरीहरुकै आँखा अगाडी यसरी बर्षौबाट सडकमा अबैध असुली कार्य भईरहेपनि प्रहरी मौन बस्दै आएको छ । मकवानपुरको हेटौंडामा प्रधान कार्यालय रहेको नारायणी यातायात व्यवसायीसंघद्धारा सञ्चालित त्यस्ता गैरकानुनी अबैध असुली कार्य रोक्न चितवन प्रहरीले अझै सकेको छैन । ति असुली केन्द्रले मालवाहक सवारी (ट्रक,टिपर,ट्याकंर,कन्टेनर) का चालकहरु बाट १८० देखि ३५० रुपैयाँसम्म दुर्घटना राहतकोषको नाममा गैरकानुनी रुपमा जर्बजस्ती उठाइरहेका छन् । माओवादी केन्द्रको दबाबमा चितवन सरुवा गरिएका नम्र स्वभावका एसपी दीपक थापाले यस्ता बद्नाम प्रहरी अधिकारी र अवैध असुली गर्ने गिरोहको सम्बन्धलाई तोड्न सक्छन् कि सक्दैनन् ? समयले नै बताउला ।

प्रतिक्रिया

सम्बन्धित