राष्ट्रपतिपछि प्रधानमन्त्रीलाई प्रयोग गर्दै रामदेव

bidhya-yog-shivir-1-e1479962727724काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय योग गुरु बाबा रामदेवले वीरगन्जमा सञ्चालन गरेको योग शिविर समापनमा नजाने भनेर प्रचार गरेपनि उनी आज जाने भएका छन् । आयोजक संस्था पतञ्जली योग केन्द्रले १३ मंसिरमा हुने शिविर समापनमा प्रधानमन्त्रीलाई बोलाएको थियो । दाहाल पनि शिविरको उद्घाटन हुँदासम्म जाने मनस्थितिमै थिए । तर, उदघाटन क्रममा राष्ट्रपति भण्डारीको अपमान गरेको सुनेपछि उनले नजाने सोच बनाएको भन्दै समाचार बाहिर आएका थिए । वीरगन्जको आदर्शनगर रङ्गशालामा जारी योग शिविरको ९ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । शिविर उदघाटनका क्रममा राष्ट्रपतिले पानसमा बत्ती बालिरहेका बेला रामदेव र उनका नेपाली सहयोगी अचार्य बालकृष्ण भने राष्ट्रपतिको मर्यादाको अपमान गर्दै ढसमस्स सोफामा बसिरहेको तस्वीर सार्वजनिक भएको थियो । उक्त तस्बीरलाई लिएर सामाजिक सञ्जालमा रामदेव र व्यापारिक प्रयोजनका लागि गरिएको कार्यक्रम उद्घाटनमा गएको भन्दै राष्ट्रपतिको सामाजिक सञ्जालमा व्यापक विरोध समेत भएको थियो । बारामा आयुर्वेदिक उद्योगको उद्घाटन गर्न र पाँच हजार नेपालीलाई रोजगार दिन भन्दै रामदेव नेपाल आएका हुन् । सो उद्योग एवं योग शिविरको उद्घाटनमा राष्ट्रपतिलाई प्रयोग गर्न सफल भएका रामदेवले अब प्रधानमन्त्रीलाई पनि प्रयोग गर्दैछन् । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पनि झुकाएर रामदेवले खनालको शीरमा हात राखिसकेका छन् । प्रधानमन्त्री नआउने जानकारी पाएपछि उनले शनिबार प्रधानमन्त्री प्रचण्डलाई डाइरेक्ट टेलिफोन गरेका थिए । नेपालका राष्ट्रप्रमुख र सरकार प्रमुखहरु सबै मेरो मुठ्ठीमा छन् भनेर देखाउने सोचाइमा रहेका रामदेवले प्रधानमन्त्री प्रचण्ड आफूसँग झुक्न नआउने भन्ने सुनेपछि शुरुमा विभिन्न च्यानलबाट प्रधानमन्त्रीलाई फकाउने उपाय लगाएका थिए । तर, प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री संविधान संशोधनको कामले व्यस्त भएको भन्दै योग शिविरमा आउन नसक्ने जानकारी दियो । त्यसपछि रामदेवले आफैं प्रचण्डको मोबाइलमा फोन गरे । पूर्वनिर्धारित एवं पूर्वप्रचारित कार्यक्रम भएकाले तपाई जसरी पनि आइदिनैपर्‍यो भनेर उनले प्रचण्डसँग जिद्दी गरेपछि प्रधानमन्त्री दाहालले फोनमा रामदेवको आग्रहलाई टार्नै सकेनन् ।

प्रतिक्रिया

सम्बन्धित