प्रधानमन्त्री साझामा

sajha_yatayatकाठमाडौं : साझा यातायातको नयाँ बस चढेर प्रधानमन्त्री पुष्पकमल दाहाल  सिंहदरबार गएका छन्। साझाका नयाँ ३० बसको सेवा शुभारम्भ गर्न ललितपुरको पुल्चोक पुगेका उनी साझामै चढेर कार्यालय फर्किएका हुन्। प्रधानमन्त्री दाहालसँगै साझाको बस चढेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, आपूर्तिमन्त्री दीपक बोहोरा तथा सचिवहरु सिंहदरबार कार्यालय फर्किएका हुन्। ३० बस थपिएसँगै साझासँग बसको संख्या ४६ पुगेको छ। ३८ वटा बस उपत्यकामा र ८ वटा बस उपत्यका बाहिर लामो रुटमा चलाइने साझाले जनाएको छ। ललितपुर पुल्चोकस्थित कार्यालयमा बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले उद्‌घाटन गरेपछि साझाका ३० बस उपत्यकाका सडकमा गुडेका छन्। काठमाडौं महानगरपालिकाको सहयोगमा साझाले अपांगमैत्री बस सञ्चालनमा ल्याएको हो। महानगरपालिकाले सर्वसाधारणको हितमा भन्दै साझामा १० करोड रुपैयाँ शेयर लगानी गरेको छ। साझाका बसका लागि उपत्यकामा ४ वटा रुट तय गरिएको छ। थपिएका बस चल्ने रुट एउटा नयाँ हो भने बाँकी पुरानै रुटमा चल्नेछन्। लामो इतिहास भए पनि साझा नेतृत्वमा कनकमणि दीक्षित आएपछि २०७० वैशाखदेखि साझाले १६ बस सडकमा उतारेको थियो। यसअघि सञ्चालित बसभन्दा थपिएका बस बढी सुविधायुक्त छन्। बसमा दुई वटा ह्विलचेयर अटाउने ठाउँ रहेका छन् । भेन्टिलेसनयुक्त बसमा मोबाइल चार्ज गर्ने सुविधा समेत छ। बसमा चालक सिटसहित ४१ सिट छन्। ११ मिटर लामो बसमा ह्यांगर समातेर उभिएर पनि यात्रा गर्न सकिने छ । यसैबीच साझाले उपत्यकाबाहिर सञ्चालन गर्न १० वटा डिलक्स बस थप्ने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित