जीप दुर्घटना हुँदा ११ मृत्यु, ३२ घाइते

accidentकाठमाडौं : छुट्टा छुट्टै स्थानमा भएको जीप दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । डोटीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो भने १४ जना घाइते भएका हुन् । यता नवलपरासी जिल्लाको पहाडी गाउँ बुलिङटारको बतासेमा जीप दुर्घटनामा सात जनाको निधन भएको हो भने १८ जना घाइते भएका हुन्। डोटीको कफल्लेकी गाविसबाट दुलही लिएर फर्केको जन्ती बोकेको जीप शनिबार राति डोटीकै लाटामाण्डौ गाविसको वडा नं २ र ३ को सिमानामा पर्ने झाँसीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा लाटामाण्डौँ गाविस–२ बस्ने ३० वर्षीय बिरी ताम्राकार र जिजौडामाण्डौ गाविस– ८ बस्ने ४५ वर्षीय गौरीशङ्कर नेपालीको मृत्यु भएको जिप्रका, डोटीका प्रमुख दिल्लीराज विष्टले जानकारी दिए । लाटामाण्डौका बिरी ताम्राकारको डडेल्धुरास्थित टिम हस्पिटलमा र जिजौडामाण्डौका गौरीशङ्कर नेपालीको कैलालीको अत्तरियास्थित पदमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको विष्टले बताए । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । गम्भीर घाइते भएका लाटामाण्डौ गाविस–२ बस्ने १२ वर्षीय सुरेश कुँवरको टाउकोमा चोट लागेकाले उपचारका निम्ति भारतको बरेली पठाइएको छ भने गम्भीर घाइते जिजौडामाण्डौ–२ बस्ने २८ वर्षीय तारा नेपालीको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको जिप्रका, डोटीले जानकारी दिएको छ । प्रहरीका अनुसार लाटामाण्डौस्थित घरमा जन्ती पुग्ने समयमा स्थानीय बालबालिका, अन्य मानिस जिपमा बस्दा ओभर लोड भई दुर्घटना भएको हो । जीप दुर्घटना, सातको मृत्यु नवलपरासी जिल्लाको पहाडी गाउँ बुलिङटारको बतासेमा शनिबार राति भएको जीप दुर्घटनामा सात जनाको निधन भएको छ। इलाका प्रहरी कार्यालय नवलपुर कावासोतीले दिएको जानकारीअनुसार सो दुर्घटनामा १८ जना घाइते भएका छन्। मृतक र घाइते सवै बुलिङटार–८ मा पर्ने बतासे गाउँका बासिन्दा भएको प्रहरीको भनाइ छ। इलाका प्रहरी कार्यालय नवलपुर कावासोतीका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजेश थापाका अनुसार छजनाको घटना स्थलमै ज्यान गएको थियो। एजनाको उपचारका लागि ल्याउँदै गर्दा बाटोमा निधन भएको उनले बताए। मृतकहरुको शव दुम्कौली स्वास्थ्य केन्द्रमा राखिएको छ। घाइतेहरुको चितवनका विभिन्न असप्तालमा उपचार भइरहेको छ। गाउँमा सुन्तला बोक्ने ग१ज ३६३२ नम्बरको बलेरो जीप राति १० बजे तिर दुर्घटना भएको हो। गाउँको विवादका विषयमा बुलिङटारको प्रहरी चौकीमा छलफल गर्न आएका व्यक्तिहरु सो जीप चढेर घर फर्कदै थिए। हिँडेर जाने हो भने सो गाउँ पुग्न प्रहरी चौकीबाट तीन घण्टा लाग्छ। दुर्घटनास्थल पूर्व–पश्चिम महेन्द्र राजमार्गको कावासोतीबाट झण्डै ५० किलो मिटर उत्तरमा छ। तनहुँसँग सिमाना जोडिएको सो ठाउँ निकै विकट छ। मृतक सातैजनाको सनाखत भएको इलाका प्रहरी कार्यालय नवलपुर कावासोतीले जानकारी दिएको छ। मृतकहरुमा बुलिङटार गाविस वडा नं. ८ बतासे गाउँका सुमन्ति मगर, खेम मगर, दीपक मगर, रेमबहादुर मगर, लोकबहादुर मगर, जयबहादुर मगर र किसन मगर रहेका छन्। त्यस्तै घाइते १८ जनामध्ये १५ जनाको भरतपुरको नारायाणी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।  तीनजनाको भरतपुरकै पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय नवलपुर कावासोतीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित