सुन काण्डमा डिआईजीलाई किन जोगाउँदै छन् आईजीपी ?

kayasthaकाठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखबाट लोकमानसिंह कार्कीको बहिर्गमनसँगै अख्तियार सिथिल बन्ने धेरैको आँकलन भएपनि थप सक्रिय बनेपछि भ्रष्टहरुको फेरि निदहराम भएको छ । सशस्त्र प्रहरीका पूर्व एआईजी ऋषवदेव भट्टराईलाई अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले मुद्दा चलाएपछि नेपाल प्रहरीमा पनि भुईंचालो गएको छ । अख्तियार प्रमुख कार्की र आईजीपी उपेन्द्रकान्त अर्यालबीचको रहस्यमय सम्बन्धका कारण प्रहरीका दर्जनौ भ्रष्टाचारीहरु कारबाहीबाट जोगिदै आएका छन् ।

  लोकमानसँग कुम जोडाउँदै आएका एआईजी विरेन्द्रबाबु श्रेष्ठ समेत अहिले छानविनमा छन् । आईजीपी अर्याल निकट डिआईजी विजयलाल कायस्थको सुन काण्डको फाइल पनि अख्तियारले खोतलेपछि लहरो तान्दा पहरो गर्जने डरले प्रहरीमा हंगामा मच्चिन लागेको छ । किनकी कायस्थलाई जोगाउन आईजीपी अर्यालले महत्वपूर्ण भूमिका खेलेको प्रहरीमा सुरुदेखि नै चर्चा हुँदै आएको थियो ।

 नेपाल प्रहरीको चर्चित ३५ किलो सुन काण्डको मुद्दा किनारा नलाग्दै कायस्थको २० किलो सुन काण्डले अख्तियारमा हंगामा मच्चिएको थियो । स्रोतका अनुसार उक्त काण्डलाई देखाएर अख्तियार प्रमुख कार्कीले आईजीपीसँग पनि बार्गेनिङ गर्दै आइरहेका थिए । अकुत सम्पत्ति थुपारेको आरोपमा अख्तियारको छानबिनमा रहेका डिआइजी कायस्थको सम्बन्ध ठूला सुन तस्करहरुसँग रहेको अनुसन्धानबाट खुलेको अख्तियार स्रोतको भनाई छ ।

 प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत कायस्थमाथि १६ महिनासम्म विमानस्थलको सुरक्षा प्रमुख हुँदा विभिन्न समयमा बरामद गरेको झन्डै २० किलो अवैध सुनको सुराकीमा अस्मिता झा नाम गरेकी एक महिलाको नाम राखेर कमिसन खाएको उजुरी परेको थियो । नियमित चेकजाँचको क्रममा बरामद भएको उक्त सुनमा अस्मिताको नाम सुराकीमा खडा गरी कमिसन खाएको विषयमा अख्तियारले कायस्थमाथि छानबिन थालेको हो ।

 सुन बरामद भएसँगै ती महिलाको नाम बारम्बार सुराकीमा भेटिएपछि कायस्थ र उनको सम्बन्धबारे समेत प्रहरीमा चर्चा हुने गरेको छ । प्रहरीभित्र नैतिकताको विषयमा डिआइजी कायस्थ बेलाबेलामा विवादमा पर्दै आएका छन् । यो सुराकी काण्डमा पनि उनले बदनामी कमाइसकेको हुँदा कारबाहीमा पर्ने प्रस्ट देखिएको अख्तियार स्रोतको दावी छ । अकुत सम्पत्ति कमाएको आशंकामा डिआइजी कायस्थलगायत २९ जनाको सम्पत्ति रोक्का गरी अख्तियारले छानबिन अघि बढाएकोमा उनी २५ नम्बरमा थिए ।

   सबै बैंक खाताहरू रोक्का भई अनुसन्धानमा तानिएका कायस्थ चर्चित सुडान काण्डमा समेत फसेका थिए । पटक–पटक बयान दिन अख्तियार धाइरहेका कायस्थले अख्तियारमा भरेको सम्पत्ति विवरण चित्तबुझ्दो नदेखिएपछि र अस्वाभाविक भेटिएपछि कारबाहिको अन्तिम तयारी भएको थियो । स्रोतका अनुसार आईजीपी अर्याल, एक पूर्व एआईजी र विवादास्पद सुन व्यापारी दिपक मल्होत्राले निलम्बित अख्तियार प्रमुख कार्कीसँग कायस्थलाई जोगाउन हात जोडेपछि कायस्थको फाइल मुल्तविमा राखिएको थियो ।

 तर, अहिले भने कार्यवहाक प्रमुख आयुक्त दिप बस्नेतले उक्त फाइल खोल्न निर्देशन दिइसकेका छन् । उक्त फाइलमाथि अनुसन्धान शुरु भइसकेको बताइएको छ । सुडान काण्डबाट रहस्यमय ढंगले उन्मुक्ति पाएका कायस्थले त्यसपछि काठमाडौंमा १० करोडको हाराहारीमा सम्पत्ति जोडेको उजुरी अख्तियारमा परेको थियो । त्रिभुवन विमानस्थलको सुरक्षा प्रमुख हुँदा कायस्थले सुन र डलर तस्करीमा चर्चित अनुहार दीपक मल्होत्रा र दया शर्माको गिरोहसँग मिलेर अवैध सम्पत्ति आर्जन गरेको अख्तियारको आशंका छ ।यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित