‘प्रभु’ कारबाहीमा परेसँगै आईजीपी समस्यामा

IGP-Aryalकाठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट लोकमानसिंह कार्की निलम्बनमा परेपछि त्यसको नकारात्मक असर नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्याललाई परेको छ । अर्यालको अवधि करिब चार महिनामात्र बाँकी रहँदा उनलाई फाल्ने खतरा समेत बढेको छ ।

 लोकमानसँग बिशेष सम्बन्ध बनाए पनि प्रहरीमा अख्तियारको हस्तक्षेप बढ्दा समेत निरिह बन्दै आएका आईजीपी अर्याललाई हटाउन गृहमन्त्री बिमलेन्द्र निधी र माओवादी केन्द्रका केही मन्त्रीहरु लागिपरेको हल्लाले प्रहरीमा व्यापक चर्चा पाएको छ । अर्यालले सबैभन्दा ठूलो शत्रु ठान्ने एआईजी राजेन्द्रसिंह भण्डारीले लोकमान अख्तियारबाट हटेपछि सफाइ पाइसकेका छन् ।

 अर्यालकै डिजाइनमा भण्डारीलाई लोकमानले अकुत सम्पत्तिमा नाम जोडेर सार्वजनिक गरेका थिए,यूनाइटेड पोष्ट साप्ताहिकमा खबर छ । लोकमानलाई ‘प्रभु’ जस्तै ठान्दै आएका आईजीपी अर्यालले कांग्रस, एमाले र माओवादीका कुनै पनि नेताको सिफारिस इन्कार गर्दै आएका थिए । लोकमानलाई खुसी बनाएपछि पद जोगिने सोचेर अर्यालले राजनीतिक हस्तक्षेप अस्वीकार गर्दै आएका थिए ।

 जनमानसमा अर्याल राजनीतिक हस्तक्षेप नमान्ने प्रहरी प्रमुखका रुपमा चिनिन्छन् । तर, राजनीतिक हस्तक्षेप भन्दा पनि डरलाग्दो लोकमानको हस्तक्षेपलाई भने उनले कहिल्यै पनि इन्कार गर्न सकेनन् । जसका कारण प्रहरीमा गुटबन्दी बढ्न थाल्यो भने एकले अर्कालाई नटेर्ने तथा आफ्ना अन्ध भक्तहरुको मात्र कुरा सुन्ने प्रथाको विकास हुन थालेको छ । अर्यालले लोकमानकै निर्देशन पालना गर्दा नेपाल प्रहरीमा गुटबन्दी एउटा संस्कारको रुपमा बिकास हुँदै आएको एआईजीहरुले नै आरोप लगाउँदै आएका छन् ।

 अर्यालले सिमित प्रहरी अधिकारीलाई मात्र विश्वास गर्छन् । ‘अदालतको आदेश नमान्ने आईजीपीलाई आफूहरुले समेत नमान्ने’ भन्दै एआईजी राजेन्द्रसिंह भण्डारीले आईजीपी अर्याललाई खुल्ला चुनौती दिएका थिए । तर, आईजीपी अर्याल आफैं निरिह बनेपछि एआईजीले मात्र होइन, हवल्दारले समेत आईजीपीलाई नटेर्ने अवस्था नेपाल प्रहरीमा सिर्जना हुँदै आयो ।

 आफूलाई हटाउन सक्ने त्रासले अर्यालको  एआईजी भण्डारी र सुरेन्द्रबहादुर शाहसँग  सुरु देखी नै सम्वन्ध बनेन । विज्ञान शर्मा र प्रताप थापासँग आईजीपी हुने बेलादेखि नै अर्यालको विवाद चल्दै आएको थियो । राजेन्द्रसिंह भण्डारीले तत्कालिन रासन ठेकेदार र भिओआइपी गिरोहसंगसँग २ करोड घुस खाएको भन्दै अतिख्यारमा बेनामे उजुरी हालेर भण्डारीलाई आईजीपी बन्नबाट रोक्ने खेल खेलेको आरोप पनि अर्यालमाथि लाग्दै आएको छ । सुरुमा प्रशासन विभागमा पदस्थापन भएका एआईजी भण्डारीलाई त्यही दुश्मनीको कारण एकेडेमी पठाइएको थियो । मोटो रकम कमिसन खाएर हतियार खरिद गर्न लागेका आईजीपी अर्याललाई भण्डारीले सहयोग नगरेपछि एकेडेमीमा सरुवा गरिएको थियो । त्यसपछि उनीहरुबीचको सम्बन्धमा झन् तिक्तता बढेपछि भण्डारीलाई सुरक्षा परिषद्मा लगेर थन्क्याइयो । व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर निर्णय  गर्ने, राय सुझाव नलिने, व्यक्तिगत सम्बन्धका आधारमा कसैलाई काखा, कसैलाई पाखा गर्ने कार्यशैलीका कारण आईजीपी अर्याल अलोकप्रिय बनेको एक एआईजी वताउँछन् । अर्यालकै निरिह पनले गर्दा प्रहरीमा भएका सरुवा र बढुवामा अख्तियार हाबी भएको छ । जसको ज्वलन्त उदाहरण डिएसपी दानबहादुर थापा हुन् ।

 अख्तियारका निलम्वित प्रमुख कार्कीले सिफारिस गरेको कुनै कुरामा पनि आईजीपी नाइ भन्न नसक्ने स्थितिमा थिए, कारण हो, अख्तियारमा लोकमानले त्रास फैलाएर राखेको सुनको नक्कली सुराकी काण्ड सम्बन्धि मुद्दा । अख्तियारलाई रुष्ट बनाउँदा आफू माथि नै प्रहार हुन सक्ने भएकोले लोकमानको सिफारिस नकार्न अर्याल सक्दैनथे । आईजीपी अर्यालको लोकमानसँग रहस्यमय कनेक्सन देखिएपछि उर्जा मन्त्री जनार्दन शर्माले पार्टीमा अर्याललाई हटाउनु पर्ने कुरा उठाइसकेका छन् ।

 यहि बेला अर्यालले गृहमन्त्रीको पनि मिडियामा बद्नाम गरेका कारण गृहमन्त्री निधी पनि अर्याललाई हटाउने विषयमा सकारात्मक बनेका छन् । आईजीपीको पदावधी नियमावली परिवर्तन गरेर ३ वर्षको बनाई अर्याललाई हटाउने संभावना बढेको छ । त्यसो भयो भने एआईजीद्वय राजेन्द्रसिंह भण्डारी र सुरेन्द्रवहादुर शाह मध्येबाट तीन महिनाका लागि एक जना आईजीपी हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित