मंसिरबाट पुनः लोडसेडिङ हुने
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उर्जामन्त्री जनार्दन शर्मा र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानसिंह घिसिङले उपत्यकालगायतका मुलुकका मुख्य शहरहरुमा लोडसेडिङ नगर्ने बताए पनि मंसिरबाट भने काठमाडौंमा लोडसेडिङ हुने भएको छ । चाड पर्वमा बिजुली कटौती नगरेको भन्दै नेपाल विद्युत प्राधिकरणको प्रशंसा भएपनि मंसिरको दोस्रो सातापछि उपत्यकामा पुनःअँध्यारो छाउन थाल्नेछ।दसैं, तिहार र छठजस्ता पर्वमा औद्योगिक क्षेत्रमा कम माग, भारतबाट बढी बिजुली आयात तथा झन्डै ३० मेगावाट आन्तरिक उत्पादन थपिएकाले समस्या देखिएको छैन्। प्राधिकरणले अहिले भारतबाट करिब ३ सय मेगावाट बिजुली आयात गरेको छ भने ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ बाट प्रणालीमा २५ मेगावाट थपिएको छ । यस्तै, औद्योगिक क्षेत्रको झन्डै ३ सय मेगावाटको माग चाडपर्वमा स्वाट्टै घटेको छ ।उपत्यकाका केही स्थानका पुराना ट्रान्सफर्मर फेरिएकाले पनिप्राधिकरणलाई माग र आपूर्ति व्यवस्थापन गर्न सजिलो भएको हो। गतवर्ष यही समयमा प्राधिकरणले भारतबाट करिब २ सय मेगावाट आयात गरेको थियो। यस्तै, ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइननिर्माण पूरा भएको थिएन। यो प्रसारण लाइन पूरा भएर यहाँबाट अहिले ७० देखि ८० मेगावाट निरन्तर आयात भइरहेको छ। यहीकारणले लोडसेडिङ नबढेको हो । उपत्यकालाई लोडसेडिङ मुक्त गर्ने योजना भएपनि अहिले उपलब्ध बिजुलीकै आधारमा सजिलो नरहेको प्राधिकरणले जनाएको छ । यता, प्रधानमन्त्री दाहालले लोडसेडिङ कम गर्न सरकारले आवश्यक सबै संयन्त्र परिचालन गर्ने बताइसकेका छन्। उर्जामन्त्री शर्माले पनि आजै लोडसेडिङ हटाउने प्रयास काठमाडौंबाट थालिएको बताएका छन् ।
प्रतिक्रिया