पाइपको आकार २ इन्च बढाउन पनि मानेन भारत

raksaul_amlekhgunj_779487555_164582121 नेपाल सरकारले रक्सौलदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनको पाइपको आकार बढाउन राखेको प्रस्ताव भारतले अस्वीकार गरेको छ । भारत आफैले बनाइदिन लागेको यो पाइपलाइनको क्षमता र आकार बढाउन भारतीय पेट्रोलियम अधिकारीले असहमति जनाएका हुन् । निर्माण प्रक्रिया अघि बढ्दै गर्दा नेपालले गरेको प्रस्तावमा भारत असहमत भएपछि अब पुरानै योजनाअनुसार पाइपलाइन बन्ने भएको हो । भारत भम्रणको एजेण्डाबारे परराष्ट्र मन्त्रालयमा भएको सचिव स्तरीय छलफलमा पेट्रोलियम पाइपलाइन बनाउँदा पहिलोसको सम्झौतामा केही हेरफेर गर्नुपर्ने विषय उठेको थियो । त्यसैअनुसार नेपालले पाइपलाइन विस्तारमा १० इन्चको पाइप ‘बायोमिट’ को सट्टा १२ इन्च बनाउन भारतलाई प्रस्ताव राखेको थियो । तर, यो प्रस्तावमा भारत असहमत भएकाले पाइपलाइनको निर्माणलाई पुरानै सम्झौताअनुसार अघि बढाउन तयारी गरिएको बताइएको छ । पाइपलाइन एकपटक बनाएपछि त्यसको संरचनामा पटक–पटक फेरबदल गर्न नमिल्ने भन्दै नेपालले क्षमता बढाउने प्रस्ताव राखेको हो । नेपालले अहिले भारतबाट मात्रै इन्धन आयात गरिरहेको छ । अब भारतबाट पाइपलाइनमा तेल ल्याउने गरी काम अघि बढाउने तयारी छ । १० इन्चलाई १२ इन्च बनाएपछि यो पाइपलाइनले लामो समयसम्म काम दिने आपूर्ति मन्त्रालयको ठहर थियो । दैनिक रुपमा इन्धनको माग बढदो रहेको कारण पनि पाइपलाइनको आकार बढाउनु पर्ने अवस्था छ । विस्तार गरेको केही समयमा समस्या आउनसक्ने भएकै कारण पनि पाइपको आकार बढाउनुपर्ने ठहर गरिएको थियो ।रक्सौलदेखि अमलेखगञ्जसम्म ४१ किलोमिटर पाइपलाइन विस्तार गर्न कूल २ सय ७५ करोड भारतीय रुपैयाँ लागत लाग्ने निक्र्यौल भइसकेको छ । पाइपलाइन २ किलोमिटर भारतीय र ३९ किमी नेपाली भूभागमा पर्छ । यसका लागि भारतीय सरकारले आईओसीलाई २ सय करोड भारतीय रुपैयाँ उपलब्ध गराउने छ भने बाँकी २३ प्रतिशत नेपाल आयल निगमले बेहोर्ने सहमति भएको छ । उक्त पाइपलाइन निर्माण सकिएपछि नेपालले खपत गर्ने पेट्रोल तथा डिजेलको ९५ प्रतिशत र हवाइ इन्धनको ९५ प्रतिशत पाइपलाइनबाट नै आउने छ ।

प्रतिक्रिया

सम्बन्धित