मुखर्जीको भ्रमणले आपसी सम्बन्ध सुधार : मन्त्रीपरिषद्

singhadarbarकाठमाडौं : सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको तयारी गर्ने निर्णय गरेको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा थप विश्वास जागृत गराएको निष्कर्ष निकाल्दै राष्ट्रपति भण्डारीको भारत भ्रमणको तयारी सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बताए । ‘अब छिट्टै नेपालको तर्फबाट राष्ट्रपति विद्या भण्डारीबाट पनि भारतको भ्रमण हुन्छ,’ उनले भने–‘तयारीको जिम्मा परराष्ट्र मन्त्रालयलाई दिइएको छ ।’ शक्तिशाली राष्ट्रप्रमुखलाई सुरक्षा दिन पनि नेपाल सक्षम रहेको र नेपालमा शान्ति छ भन्ने सन्देश मुखर्जीको भ्रमणले दिएको मन्त्रिपरिषद बैठकको निष्कर्ष छ । यसैबीच सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा राजश्व सचिव राजन खनाललाई नियुक्त गरेको छ। बैठकले राजश्व सचिव खनाललाई निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। त्यसैगरी उपेक्षित उत्पीडित र दलित वर्ग उत्थान विकास समितिको कार्यकारी निर्देशकमा डाक्टक बुद्धिबहादुर नेपालीलाई मनोनयन गरिएको छ। बैठकले ख्वप विश्वविद्यालयसम्बन्धी विधेयकलाई व्यवस्थापिका संसदमा पेश गर्नका लागि स्वीकृत गरी व्यवस्थापिका संसदको विधेयक समितिमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले जनाकारी दिए।

प्रतिक्रिया

सम्बन्धित