लोकमानको आदेश नकार्न आईजीपी अर्याल किन सक्दैनथे ?
काठमाडौं । नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्यालको अवधि करिब चार महिनामात्र बाँकी रहदा रहँदा उनलाई फाल्ने खेल बढेको छ । अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीसँग बिशेष सम्बन्ध बनाएर प्रहरीमा अख्तियारको हस्तक्षेप बढ्दा समेत निरिह बन्दै आएका आईजीपी अर्याललाई हटाउन गृहमन्त्री बिमलेन्द्र निधी र उर्जामन्त्री जनार्दन शर्मा 'प्रभाकर' लागिपरेको हल्लाले प्रहरीमा चर्चा पाएको छ ।
आईजीपीको पदावधी नियमावली परिवर्तन गरेर ३ वर्षको बनाई अर्याललाई हटाउन लागिएको मन्त्रालय स्रोतको भनाइ छ । त्यसो भयो भने एआईजीद्वय राजेन्द्रसिंह भण्डारी र सुरेन्द्रवहादुर शाह मध्येबाट तीन महिनाका लागि एक जना आईजीपी हुनेछन् । त्यसो त अर्यालकै कारण नेपाल प्रहरीमा गुटबन्दी एउटा संस्कारको रुपमा बिकास हुँदै आएको एआईजीहरुले नै आरोप लगाउँदै आएका छन् ।
अर्यालले सिमित प्रहरी अधिकारीलाई मात्र विश्वास गर्छन् । ‘अदालतको आदेश नमान्ने आईजीपीलाई आफूहरुले समेत नमान्ने’ भन्दै एआईजी राजेन्द्रसिंह भण्डारीले आईजीपी अर्याललाई खुल्ला चुनौती दिएका थिए । सेनामा कसैले यस्तो बोलेको भए संगठन प्रमुखविरुद्ध यसरी बोल्ने अधिकारीलाई ‘कोर्टमार्शल’ भइसक्यो । तर, आईजीपी अर्याल आफैं निरिह बनेपछि एआईजीले मात्र होइन, हवल्दारले समेत आईजीपीलाई नटेर्ने अवस्था नेपाल प्रहरीमा सिर्जना हुँदै आयो ।
आफूलाई हटाउन सक्ने त्रासले अर्यालको एआईजी भण्डारी र सुरेन्द्रबहादुर शाहसँग सुरु देखी नै सम्वन्ध बनेन । विज्ञान शर्मा र प्रताप थापासँग आईजीपी हुने बेलादेखि नै अर्यालको विवाद चल्दै आएको थियो । पछिल्लो समय आँफैले विश्वाश गरेका एआईजी रमेशशेखर ब्रजाचार्यसँग पनि उनको सम्वन्ध बिग्रेको छ ।
राजेन्द्रसिंह भण्डारीले सिआइबिमा हुँदा तत्कालिन रासन ठेकेदार र भिओआइपि गिरोहसंगसँग २ करोड घुस खाएको भन्दै अतिख्यारमा बेनामे उजुरी हालेर भण्डारीलाई आईजीपी बन्नबाट रोक्ने खेल खेलेको आरोप पनि अर्यालमाथि लाग्दै आएको छ ।
एआईजी भण्डारी र आईजीपी अर्यालबीचको दोस्ती कुनै समय लोभलाग्दो थियो । तर, कुर्सीको कारणले उनीहरु जानी दुश्मन भए। सुरुमा प्रशासन विभागमा पदस्थापन भएका एआईजी भण्डारीलाई त्यही दुश्मनीको कारण एकेडेमी पठाइएको थियो । मोटो रकम कमिसन खाएर हतियार खरिद गर्न लागेका आईजीपी अर्याललाई भण्डारीले सहयोग नगरेपछि एकेडेमीमा सरुवा गरिएको थियो ।
त्यसपछि उनीहरुबीचको सम्बन्धमा झन् तिक्तता बढेपछि भण्डारीलाई सुरक्षा परिषद्मा लगेर थन्क्याइयो। व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर निर्णय गर्ने, राय सुझाव नलिने, व्यक्तिगत सम्बन्धका आधारमा कसैलाई काखा, कसैलाई पाखा गर्ने कार्यशैलीका कारण आईजीपी अर्याल अलोकप्रिय बनेको एक एआईजी वताउँछन् ।
अर्यालकै निरिह पनले गर्दा प्रहरीमा भएका सरुवा र बढुवामा अख्तियार हाबी भएको छ । अख्तियारका निलम्वित प्रमुख कार्कीले सिफारिस गरेको कुनै कुरामा पनि आईजीपी नाइ भन्न नसक्ने स्थितिमा थिए , कारण हो अख्तियारमा लोकमानले त्रास फैलाएर राखेको सुनको नक्कली सुराकी काण्ड सम्बन्धि मुद्दा । अख्तियारलाई रुष्ट बनाउँदा आफू माथि नै प्रहार हुन सक्ने भएकोले लोकमानको सिफारिस नकार्न अर्याल सक्दैनथे । पछिल्लो समय आईजीपी अर्याल योग्य अधिकृतहरुलाई बाइपास गरेर केहि सिमित प्रहरी अधिकृतहरुलाई लिएर संगठन हाकेपछि संगठनमा थप असन्तुष्टि फैलिएको वताइन्छ ।
प्रतिक्रिया