सहाना प्रधानको नाम र तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्न माग

sahana

काठमाडौं । नेपालको कम्युनिष्ट आन्दोलनकी शिखर व्यक्तित्व सहाना प्रधानको नाम र तस्बिर अंकित हुलाक टिकट प्रकाशनका लागि सरकारसँग माग गरिएको छ ।

 मंगलबार सहाना प्रधान प्रतिष्ठानकी अध्यक्ष एवं पूर्वशहरी विकास मन्त्री रामकुमारी झाँक्रीसहितको प्रतिष्ठानको टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई भेटेर प्रधानको नामममा हुलाक टिकट प्रकाशन गर्न आग्रह गरेको हो ।

 जीवनपर्यन्त सामाजिक न्याय र महिला मुक्ति आन्दोलनमा संघर्षरत रहेकी प्रधानको नाम र तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्न आफूहरुले सरकारको ध्यानाकर्षण गराएको पूर्वमन्त्री झाँक्रीले बताइन् ।

 उनले प्रधानजस्ता अग्रज व्यक्तित्वका योगदानहरुलाई जीवन्त बनाइ राख्न र आउँदो पुस्तालाई समेत परिचित गराउन प्रधानको नाममा हुलाक टिकट प्रकाशन गर्नुपर्नेमा जोड दिइन् ।

 सञ्चारमन्त्री शर्माले यस विषयमा विषयमा सरकार सकारात्मक रहेको उल्लेख गर्दै सामाजमा योगदान गरेका यस्ता मूर्धन्य व्यक्तित्वहरुको सम्मान गर्नु राज्यको समेत दायित्व रहेको बताइन् ।

 कम्युनिष्ट राजनीतिमा झण्डै ६ दशक निरन्तर सक्रिय रहेकी प्रधानले ०४६ सालमा संयुक्त वाममोर्चाको नेतृत्व गर्दै आन्दोलनको अगुवाइ गरेकी थिइन्। ०४६ पछिको अन्तरिम सरकारमा उनी उद्योगमन्त्री थिइन्।

 त्यसैगरी ०६३ को परिवर्तनपछि बनेको सरकारमा उनी उपप्रधान तथा परराष्ट्रमन्त्री थिइन्। स्वर्गीय प्रधान कम्युनिस्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठकी पत्नी हुन्। राणा शासनको अन्त्यका लागि भएको आन्दोलनको पृष्ठभूमिबाट राजनीतिमा लागेकी साहना नेपाली राजनीतिमा अविस्मरणीय पात्र हुन् ।  प्रधानको २०७१ असोजमा निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित