विजयादशमी पर्व हर्षोल्लासका साथ मनाइंदै

tik8काठमाडौँ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व  हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापी मनाइँदैछ ।

  मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोगव्याधमा औषधिका रूपमा काम गर्ने तथ्य वैज्ञानिकरूपमा समेत पुष्टि भइसकेको छ । tk2   घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी आज मान्यजनबाट टीका र प्रसाद लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो । त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीकको रूप लिएका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।

  दसैँ घर तथा पूजा कोठामा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवी पूजा विसर्जन गरी निकालेपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ ।

  बिजय दशमीमा गुरु पुरोहित, हजुरबा हजुरआमा, बा आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरूबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवम् दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटामा भीड देख्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित