राजेश हमाललाई 'ब्राण्ड एम्बेसडर' बनाई करोडौं ठग्ने बर्मा पक्राउ

maha-nayak-inovetiveकाठमाडौं । महानायक राजेश हमाललाई कम्पनीको 'ब्राण्ड एम्बेसडर' बनाई विद्यार्थीहरुबाट करोडौं उठाएर फरार  ईनोभेटिभ नेपाल एजुकेशन कन्सलटेन्सीका सञ्चालक कपिल बर्मा  पक्राउ परेका छन् । बर्मालाई  महानगरिय प्रहरी परिसर टेकुले आज पक्राउ गरेको हो।

 बर्माविरुद्ध विद्यार्थीहरुलाई अष्ट्रेलिया,अमेरिका, क्यानडा लगायतका मुलुकमा अध्ययनका लागि पठाइदिने भन्दै १ करोड बढी ठगी गरेको उजुरी परेपछि पक्राउ गरी अनुसन्धान भैरहेको परिसरका डिएसपी रविन्द्र रेग्मीले वताए । बर्मालाई ठगीमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

 महानायक हमाललाई ब्राण्ड एम्बेसडरको रुपमा नियुक्ती गरेर राम्रो कन्सलटेन्सी भन्दै प्रचार गरी बर्माले इनोभेटिभ नेपालको नामबाट विद्यार्थीहरुलाई ठगी गर्दै आएका थिए । बर्माले अमेरिका पठाउने भन्दै इभान सिंह नाम गरेकी विद्यार्थीबाट १२ लाख १८ हजार, राकेश र विनु श्रेष्ठ दम्पतीलाई अष्ट्रेलिया डिपेन्डेन्ट भिसा लगाइदिने भन्दै चार लाख, अष्ट्रेलियाकै एक कलेजमा इन्सोरेन्सको पैसा बुझाइदिने भन्दै प्रकाश सापकोटासँग ४१ लाख, अष्ट्रेलिया पठाउने नाममा ठिमीका रोजन श्रेष्ठसँग ११ लाख ५० हजार, अमेरिकामा रहेका विकाश सुनुवार र विजय श्रेष्ठलाई ट्युसन फि तिर्नुप-यो भन्दै विद्यार्थीका आफन्तसँग ८ लाख ६६ हजार रकम लिएर कलेजमा नपठाई ठगी गरेको भन्दै उजुरी परेको छ ।

 त्यस्तै, साजन भण्डारी नामका अर्का विद्यार्थीसँग अष्ट्रेलियामा कलेजको इन्स्योरेन्सको रकम तिरिदिन्छु भन्दै ३ लाख ४४ हजार रकम लिएर इन्स्योरेन्स नगरेपछि ठगिएको भन्दै भण्डारीले पनि उजुरी गरेका छन् । शुरुमा प्रमिला श्रेष्ठ, कुमारी श्रेष्ठ र साजन भण्डारीले परिसरमा उजुरी दिएपछि प्रहरीले बर्मालाई पक्राउ गरी पीडित विद्यार्थीको पैसा फिर्ता गर्ने शर्तमा सहमती गराई दैनिक हाजिरीमा छाडेको थियो । तर, उनले कसैको पनि पैसा फिर्ता नगरेको प्रहरीको भनाइ छ ।

 अर्कोतर्फ बुझ्दै नबुझी महानायक राजेश हमाल जस्तो व्यक्तित्व पनि यस्ता ठगी धन्दा मच्चाउने कन्सलटेन्सीको फन्दामा परेपछि विद्यार्थीहरु झनै अन्यौलमा परेका हुन् ।

 यो घटनापछि विद्यार्थीहरुलाई कुन कन्सलटेन्सी राम्रो र कुन नराम्रो हो भनेर छुट्याउन पनि कठिनाई हुने देखिन्छ । किनकी दुई वर्षका लागि इनोभेटिभको ब्राण्ड एम्बेसडर बन्दा महानायक  हमालले भनेका थिए–‘नेपालको शैक्षिक परामर्शदाता कम्पनीको रुपमा दश वर्ष सेवा दिइसकेको इनोभेटिभ नेपाल एक गुणस्तरीय परामर्शदाता कम्पनी भएकाले आफू जोडिन चाहेको हुँ । इनोभेटिभ नेपालमा स्थापित र मर्यादित कम्पनी पनि हो ।’ तर, अहिले बर्मा नै पक्राउ परेपछि हमाल समेत समस्यामा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित