पूर्वगृहमन्त्री घिमिरेसहित तीन दाजुभाइको अवस्था अझै अज्ञात
चितवन । त्रिशूली नदीमा खसेर बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीन दाजुभाइको अवस्था अझै अज्ञात छ । आइतबार साँझ पृथ्वी राजमार्गअन्तर्गत चितवनको दाह्रेचोक गाविस–३ घोप्टेभिरबाट बेपत्ता भएका उनीहरुको खोजी कार्य जारी राखिए पनि फेला पार्न नसकिएको घटनास्थलमा रहेका चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जनाएका छन् । गाडी खसेको ठाउँमा एउटा डुंगामा चढेर खोजी कार्य जारी छ भने अर्को डुंगामार्फत नदीको बहावसँगै खोजी कार्य थालिएको छ ।
नदीका अन्य ठाउँमा पनि नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन भएको सिंहले बताए । दुर्घटना भएसँगै कुरिनटारमा रहेको सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम केन्द्रको टोली अनवरत रुपमा जुटिरहेको छ । सोही ठाउँबाट केही दिनअघि त्रिशूलीमा खसेको ट्रक पनि अझै बेपत्ता छ । पानी धमिलो र खोलाको बहाव उच्च रहेकाले खोजी कार्यमा कठिनाइ भएको छ । दुर्घटनामा परी घिमिरेसहित उनका भाइ प्रकाश र मोहन बेपत्ता छन् ।
गाडी पनि नदीमा बेपत्ता भएको छ । दुर्घटनामा परी घिमिरेकी आमा ८० वर्षीया चैतन्यकुमारी घिमिरे, सुरक्षागार्ड सशस्त्र प्रहरी नायब निरीक्षक रामचन्द्र कार्की र आफन्त नारायण काफ्लेको मृत्यु भएको छ ।
मुक्तिनाथबाट पोखरा हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा९च १५३१ नम्बरको स्करपियो गाडी त्रिशूलीमा खसेको थियो । चालक प्रहरीका हवल्दार विष्णु राई घाइते भएका छन् । उनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया