भूकम्पपीडितलाई तीन लाख दिन प्रस्ताव, भोली टुंगो लाग्ने
काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितलाई घर बनाउन सरकारले तीन किस्तामा तीन लाख रुपैयाँ अनुदान दिन प्रस्ताव गरेको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणको निर्देशक समितिको बैठकमा प्राधिकरणले अहिलेसम्म गरेका कामको प्रगति विवरण पेश गर्दै सरकारसँग तीन किस्तामा तीन लाख रकम पीडितलाई दिन प्रस्ताव गरेका हुन्। अहिले उपत्यका बाहिरका भूकम्प अति प्रभावित ११ जिल्लाका तीन लाख ९३ हजार परिवारलाई घर बनाउन पहिलो किस्ताको ५० हजार रुपैयाँ दिइएको छ। ज्ञवालीले दोस्रो किस्तामा १ लाख ५० हजार र तेस्रो किस्तामा १ लाख रुपैयाँ दिन प्रस्ताव गरको छन्। आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा पूनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले प्राधिकरणको प्रगति विवरण र आगामी कार्ययोजनाबारे धारणा राखेका थिए। बैठकमा अर्थ, सामान्य प्रशासन, शहरी विकास, सङ्घीय मामिला तथा स्थानीय विकास, शिक्षा र संस्कृति तथा पर्यटन मन्त्रालयका सचिवहरुले पूनर्निर्माणमा विषयगत मन्त्रालयको कामको प्रगति र समस्याबारे बताएका थिए। प्राधिकरण निर्देशक समितिको अर्को बैठक सोमबार दिउँसो २ बजे सिंहदरबारमा बस्ने भएको छ। सो बैठकले पीडितलाई तीन लाख नगद दिने बारे निर्णय गर्ने प्राधिकरणका प्रवक्ता सहसचिव रामप्रसाद थपलियाले बताए।
प्रतिक्रिया