कोरियन भाषा परीक्षा आउँदो पुससम्म

काठमाडौं । ईपीएस कोरिया शाखाले सुरु गरेको कोरियन भाषा परीक्षा आउँदो २०८१ पुस २ गते सकिने भएको छ ।

सोमबार पहिलो चरणअन्तर्गत सुरु भएको परीक्षामा ४७ हजार ५१९ जना सहभागी हुनेछन् । उक्त परीक्षा आउँदो चैत २४ गते सकिने ईपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिइन् ।

उनका अनुसार, दोस्रो चरणमा ७९ हजार ९३७ जनाको परीक्षा लिइनेछ । उक्त परीक्षा आउँदो २०८१ वैशाख ३१ देखि साउन १६ गतेसम्म सञ्चालन हुनेछ ।

यसैगरी, तेस्रो चरणको परीक्षामा ३६ हजार १७९ परीक्षार्थी सहभागी हुनेछन् । उक्त परीक्षा २०८१ कात्तिक २६ देखि पुस २ गतेसम्म सञ्चालन हुनेछ ।

सन् २०२३ का निम्ति कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा भइरहेको छ । दैनिक पाँच सिफ्ट तयार गरी दिनमा एक हजारजनाले परीक्षा दिन थालेको ईपीएस कोरिया शाखाका निर्देशक कँडेलले जानकारी दिइन् ।

उनले भनिन्, “पहिलो सिफ्टमा करिब ४७ हजार ५१९ जनाले कोरियन भाषा परीक्षा दिनेछन् । शनिबार पनि परीक्षा लिने गरी व्यवस्था मिलाएका छौँ । तीन चरणमा सञ्चालन हुने उक्त परीक्षा आगामी २०८१ पुस २ गते सकिन्छ ।

परीक्षाको अघिल्लो दिन आफ्नो सिफ्टअनुसार ईपीएस शाखा कार्यालय ग्वार्कोमा बायोमेट्रिक रजिस्ट्रेसन फिंगर प्रिन्ट दर्ताका निम्ति उपस्थित हुनुपर्नेछ । परीक्षाको दिन परीक्षा केन्द्र भैँसेपाटीमा बायोमेट्रिक भेरिफाइ हुने ईपीएस कोरिया शाखाका शाखा अधिकृत कमल श्रेष्ठले जानकारी दिए ।

परीक्षा समयभन्दा एक घण्टाअघि परीक्षा हलमा परामर्श सुरु हुने र निर्धारित समयमा उपस्थित नभएमा परीक्षामा सहभागी नगराइने निर्देशक कँडेलले बताइन् । उनका अनुसार, उक्त परीक्षामा मोबाइल फोन, स्मार्ट वाचलगायत कुनै पनि विद्युतीय सञ्चारका साधन लैजान निषेध गरिएको छ ।

यसैगरी, परीक्षामा चिट, कपी गरेको तथा अरू अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुका साथै चार वर्षसम्मका निम्ति परीक्षामा समावेश हुन निषेध गरिएको ईपीएस कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित