अपराध महाशाखा र परिसरमा एसएसपीहरुको अदृष्य चलखेल
महाशाखासँगै काठमाडौं परिसर र ललितपुर परिसरका प्रमुखको अवधि एक वर्ष पुगिसकेको छ । आइजीपी उपेन्द्रकान्त अर्याल भने दशै अगाडि प्रमुखहरु परिवर्तन गर्ने सोचमा नरहेपनि यतिखेर प्रहरी संगठनमा गृहमन्त्री हावी भएका कारण एसएसपीहरुको चलखेल बढेको हो ।यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । अपराध महाशाखामा आउन खराव व्यक्तिसँगको संगतका कारण बद्नाम भएका एसएसपी दिनेश अमात्य, असक्षमका रुपमा परिचित एसएसपी मनोज न्यौपाने, धिरु बस्नेत, ठाकुर ज्ञवालीलगायत चलखेलमा लागेका छन् ।
यिमध्ये अमात्य र न्यौपाने बढि चलखेलमा लागेको बताइन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका नातेदार न्यौपानेलाई आइजीपी अर्यालले काठमाडौं परिसरको प्रमुख बनाउन सक्ने संभावना रहेको स्रोतको भनाई छ । कार्कीलाई खुसी बनाउन आइजीपी अर्यालले प्रमुख बनाउन लागेको आइजीपी सचिवालयमा चर्चा छ । त्यसैगरी महाशाखामा आउन डन र तस्करसँग हिमचिम भएको आरोप खेप्दै आएका एसएसपी दिनेश अमात्यसँग पछिल्लो समय आइजीपी अर्याल सकारात्मक बनेको हुँदा उनले पनि महाशाखा जान दौडधुप गरेका छन् ।
आइजीपी अर्यालले सचिवालयमा रहेका एसएसपी ठाकुर ज्ञवालीलाई पनि महाशाखा पठाउने आश्वसन दिएको स्रोत बताउँछ । एसपी हुँदा पनि सचिवालयमा बसेर काम गरेका ज्ञवालीले झापा र बाराको इन्चार्ज भएर काम गरिसकेका छन् । एसएसपीमा बढुवा भएपछि पुनः सचिवालयमा नै काम गर्दै आएका ज्ञवाली भाग्यमानी प्रहरीमा गनिन्छन् ।
त्यसैगरी एसएसपी केदार रिजालले पनि महाशाखामा जान इच्छा देखाएका छन् । उनले यसअिघ काठमाडौं परिसरको प्रमुख भएर काम गरिसकेका छन् । तर, महाशाखामा एसएसपी सर्वेन्द्र खनालले जस्तै काम गर्न सक्ने क्षमताका कुनै अधिकृत नभएकाले अहिले नै पठाउने विषयमा आइजीपी अर्याल अन्यौलमा रहेको बताइन्छ । एसएसपी खनालले अपराध र अपराधी विरुद्ध शुरु गरेको अभियानलाई निरन्तरता दिन सक्ने एसएसपी भने अहिलेसम्म आइजीपीको नजरमा परेका छैनन् । त्यसैगरी एसएपीद्धय पुष्पचन्द्र रञ्जित र बलराम शर्मा पौडेलले पनि पाए महाशाखा नपाए दुईमध्ये एक परिसर ताकेर बसेका छन् । गुण्डागर्दीविरुद्ध इन्काउन्टर अभियान, फुटबलको म्याच फिक्सिङ, कन्सलटेन्सी र मेनपावरको ठगी, पेट्रोल पम्पमा चिप्स राखेर हुँदै आएको लुट र हुण्डी कारोबारीलाई ठेगान लगाएर एसएसपी खनालले नयाँ कामको शुरुवात गरेका थिए । त्यस्तै व्यापारी घराना दुगडलगायतका संस्थाहरुको कालोबजारी र डन दिपक मनाङ्गेविरुद्ध कारबाही गरी चर्चा कमाएका एसएसपी विक्रमसिंह थापापनि सफल एसएसपीमा गनिन्छन् । राजधानीका स्कुलहरुमा बम काण्ड मच्चाउने गिरोहलाई तुरुन्तै पक्राउ गरी एसएसपी थापाले प्रहरीको नाक जोगाएका छन् । खनाल र थापाको जोडीका कारण उपत्यकामा अपराधका घटनाहरुको कमी आएको र अहिले त्यस्तै एसएसपीहरुको खाँचो रहेको हुँदा आइजीपी अर्यालले दबाबमा कसैलाई पठाउँछन् कि काम गर्न सक्ने सक्षम एसएसपीलाई पठाउँछन् त्यो भने केही समय पछि नै थाहा होला ।
प्रतिक्रिया