विद्यार्थीको करोडौं ठगेर इनोभेटिभका सञ्चालक फरार, हमाल बिबादमा

hamal and barma inovativeकाठमाडौं । प्रहरीले दिनहुँजसो विभिन्न एजुकेशन कन्सलटेन्सीका सञ्चालकलाई ठगी मुद्दामा पक्राउ गरी कारबाही गरेपनि त्यस्ता घटनामा भने कुनै कमि आएको छैन । मुलुकका गहनाका रुपमा परिचित सेलिब्रेटीहरुलाई नै ब्राण्ड एम्बेसडर बनाई गिरोहले विद्यार्थीहरुबाट करोडौं असुल्ने धन्दा शुरु गरेको छ । राजधानीको पुरानो बानेश्वरमा कार्यालय रहेको ईनोभेटिभ नेपाल नामक एजुकेशन कन्सलटेन्सीका सञ्चालक कपिल बर्माले महानायक राजेश हमाललाई ब्राण्ड एम्बेसडर बनाई विद्यार्थीहरुबाट करोडौं उठाएर फरार भएका छन् ।

जुन कुरा अहिले महानगरिय प्रहरी परिसर काठमाडौंमा बर्माविरुद्ध धमाधम उजुरी परेपछि बाहिर आएको हो ।

महानायक राजेश हमाललाई ब्राण्ड एम्बेसडरको रुपमा नियुक्ती गरेर राम्रो कन्सलटेन्सी भन्दै प्रचार गरी बर्माले इनोभेटिभ नेपालको नामबाट विद्यार्थीहरुलाई ठगी गर्न सफल भएका छन् । विद्यार्थीबाट विभिन्न बहानामा उठाएको पैसा फिर्ता नगरेपछि बर्मा विरुद्ध नेपाल शैक्षिक परामर्श संघ(इक्यान) र परिसरमा उजुरी परेको हो । इक्यानले इनोभेटिभको सदस्यता खारेज गरिसकेको छ ।

बर्माले अमेरिका पठाउने भन्दै इभान सिंह नाम गरेकी विद्यार्थीबाट १२ लाख १८ हजार, राकेश र विनु श्रेष्ठ दम्पतीलाई अष्ट्रेलिया डिपेन्डेन्ट भिसा लगाइदिने भन्दै चार लाख, अष्ट्रेलियाकै एक कलेजमा इन्सोरेन्सको पैसा बुझाइदिने भन्दै प्रकाश सापकोटासँग ४१ लाख, अष्ट्रेलिया पठाउने नाममा ठिमीका रोजन श्रेष्ठसँग ११ लाख ५० हजार, अमेरिकामा रहेका विकाश सुनुवार र विजय श्रेष्ठलाई ट्युसन फि तिर्नुप-यो भन्दै विद्यार्थीका आफन्तसँग ८ लाख ६६ हजार रकम लिएर कलेजमा नपठाई ठगी गरेको भन्दै उजुरी परेको छ । त्यस्तै, साजन भण्डारी नामका अर्का विद्यार्थीसँग अष्ट्रेलियामा कलेजको इन्स्योरेन्सको रकम तिरिदिन्छु भन्दै ३ लाख ४४ हजार रकम लिएर इन्स्योरेन्स नगरेपछि ठगिएको भन्दै भण्डारीले पनि उजुरी गरेका छन् ।

शुरुमा प्रमिला श्रेष्ठ, कुमारी श्रेष्ठ र साजन भण्डारीले परिसरमा उजुरी दिएपछि प्रहरीले बर्मालाई पक्राउ गरी पीडित विद्यार्थीको पैसा फिर्ता गर्ने शर्तमा सहमती गराई दैनिक हाजिरीमा छाडेको थियो । तर, अहिले उनी फरार भएपछि पीडित विद्यार्थीहरु मारमा परेका छन् । उनले एक कानुन व्यवसायीबाट पनि तीन लाख ५० हजार लिएको परिसर स्रोतले बतायो । प्रहरीले केही दिन अघि बर्माको कार्यालयमा काम गर्ने सविना श्रेष्ठलाई पक्राउ गरी तारिखमा छाडेको छ । तर, उनले अहिलेसम्म बर्मा कहाँ छन् भन्ने बारेमा प्रहरीलाई कुनै पनि जानकारी दिएकी छैनन् । स्रोतका अनुसार माओवादीका केन्द्र काभ्रेका नेता कसम गुरुङले ‘माथिबाट सेटिङ’ मिलाई संरक्षण दिएका कारण प्रहरीले बर्मालाई पक्राउ गर्न सकेको छैन । यूनाइटेड पोस्टमा खबर छ । अर्कोतर्फ बुझ्दै नबुझी महानायक राजेश हमाल जस्तो व्यक्तित्व पनि यस्ता ठगी धन्दा मच्चाउने कन्सलटेन्सीको फन्दामा परेपछि विद्यार्थीहरु झनै अन्यौलमा परेका हुन् ।यो घटनापछि विद्यार्थीहरुलाई कुन कन्सलटेन्सी राम्रो र कुन नराम्रो हो भनेर छुट्याउन पनि कठिनाई हुने देखिन्छ । किनकी दुई वर्षका लागि इनोभेटिभको ब्राण्ड एम्बेसडर बन्दा हमालले भनेका थिए–‘नेपालको शैक्षिक परामर्शदाता कम्पनीको रुपमा दश वर्ष सेवा दिइसकेको इनोभेटिभ नेपाल एक गुणस्तरीय परामर्शदाता कम्पनी भएकाले आफू जोडिन चाहेको हुँ ।इनोभेटिभ नेपालमा स्थापित र मर्यादित कम्पनी पनि हो ।’ तर, अहिले बद्नाम भएपछि हमालले उक्त कम्पनीको ब्राण्ड एम्बेसडरबाट हटेको बताउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित