गृहमन्त्रीका गुण्डा नछाडेका कारण एसपीको सरुवा
काठमाडौं । झैझगडामा संलग्न कार्यकर्ता छोड्न नमानेपछि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको निर्देशनमा धनुषा प्रहरी प्रमुख रामदत्त जोशी प्रधान कार्यालय तानिएका छन् । गृहमन्त्री निधिकै निर्देशनमा फुलगामा इलाका प्रहरीका इन्चार्ज प्रहरी नायव निरीक्षक धर्मेन्द्र ठाकुर पनि फिर्ता भएका छन् ।
ठाकुर ढल्के इलाका प्रहरीमा तानिएका छन् । “कुटपिटमा संलग्न आफ्ना कार्यकर्ता छुटाउन गृहमन्त्रीको दबाब आएको थियो,” प्रहरी स्रोतले भन्यो, “आफ्नो आदेश नमाने माथिकै अधिकारीलाई कारबाही गर्ने चेतावनी दिएपछि बाध्य भएर एसपी फिर्ता गरिएको हो ।”
गृहमन्त्रीले कार्यभार सम्हाल्दै गर्दा सुरक्षा अधिकारीलाई निर्देशन दिँदै गलत काममा हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाएका थिए ।फुलगामाका नेकपा एमालेका कार्यकर्ता इन्द्रकान्त रायलाई कुटपिट गर्ने नेपाली कांग्रेसका रामचन्द्र रायलाई पक्राउ नगर्न निधिले निर्देशन दिएका थिए ।
तर, धनुषा प्रहरी प्रमुख जोशीको निर्देशनअनुरूप ठाकुरले आरोपित रामचन्द्रलाई पक्राउ गरी अनुसन्धान अघि बढाएका थिए । अभियुक्त पक्राउ परेपछि निधिले सई, एसपी जोशी हुँदै महानिरीक्षक उपेन्द्रकान्त अर्यालसम्म मुद्दा नचलाउन दबाब दिएका थिए । कारोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया