पोखरा । विद्यालय पढ्न गएका १५ वर्षिय अनिष गौतम स्कूल भित्रै आफैलाई पढाउने शिक्षकवाटै निर्घात कुटिए । कास्कीको पुरुञ्चौरमा रहेको भारती भवन माध्यामिक विद्यालयका शिक्षकहरु मिनराज ढुंगाना, वासु तिवारी, धर्मदत्त अधिकारी र विद्यालयका प्रधानाध्यापक गोविन्द काफ्ले समेतले विद्यार्थी अनिष गौतमलाई मुक्का प्रहार गरेका छन् । गुरुहरुको मुक्का प्रहारवाट विद्यार्थी अनिषको देव्रे गालो सुन्निएको छ भने वंगाराको जरामा समेत असर पुगेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको परीक्षण पूर्जिले उल्लेख गरेको छ । क्षेत्रीय अस्पतालले दांत परीक्षणका लागि गण्डकी मेडिकल कलेज नयाँ वजार रिफर गरेको र त्यहाँ परीक्षण गर्दा वंगाराको जरा हल्लिएको पिडित पक्षले गुनासो गरेका छन् ।
कसरी भयो मुक्का प्रहार ?
भाद्र २२ गते वुधवार कक्षा १० पढ्ने चुरुङ्गाका १५ वर्षिय अनिष गौतम आफ्नो स्कूल भारती भवन मावि पुरुञ्चौर पुगे । केहि ढिलो पुगेका उनी हतार हतार लाइन बसे । लाइनमै रहँदा एक शिक्षक वासु तिवारीले उनको कपाल लामो भएको भन्दै काटेर ठुट्याइदिए । वायाँ तिर पनि काट्न शिक्षकले हात अघि बढाएपछि विद्यार्थी अनिषले सर कपाल भोली काटेर आउँछु भनेर अनुरोध गर्दै सरको हात रोक्न खोजेका थिए । हात रोक्ने क्रममा अनिष लाइनबाट वाहिर निस्किएका थिए ।
हात रोकिएको विषयलाई शिक्षकहरुले इगो बनाएर लाइममै अनिषको देव्रे गालाको कानमुनी मुक्का प्रहार गरेका थिए । विद्यार्थीहरुको लाइनमै ३ जना शिक्षक मध्य एकले ज्यामित वक्स नल्याएको निहुं थपेर यसलाई दण्ड दिनै पर्छ भन्दै कुटपिट गर्न उक्साएका थिए । विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद काफ्ले पनि विद्यार्थी अनिषलाई कुट्ने विषयमा आगोमा घ्यु थपिदिए । उनले पनि विद्यार्थीलाई थप्पड दिए र कार्यालयमा तानेर लगेको स्वीकार गरे ।
२२ गते भारती भवन माविमा भएको यो घटनावाट पिडित वालक अनिष गौतम त्यस रातमा पिडाले सुत्न सकेनन् । रातभरी ज्वरो आएपछि भोली पल्ट भाद्र २३ गते क्षेत्रीय अस्पताल पोखरा लगेर जाँच गरिदा गाला सुन्निएको र दात परीक्षणको लागि गण्डकी मेडिकल कलेज जान सुझाव दिइएको विरामी जाँच पुर्जिबाट खुल्न आएको छ ।
को के भन्छन् ?
विद्यालय शान्ती क्षेत्र हो । आजको शिक्षा वाल मैत्री शिक्षा अपरिहार्य विषय बनेको छ । त्यसमा पनि पुरुञ्चौरले आफ्नो गाविसलाई वालमैत्री बनाउने प्रतिवद्धता व्यक्त गरिसकेको अवस्थामा सोही गाविसमा रहेको त्यस भेगकै राम्रो कहलिएको विद्यालय भारती भवन माविमा बालबालिकामाथि नै कुटपिट हुनुलाई किमार्थ राम्रो मान्न सकिन्न । पढाइमा समेत अव्वल रहेका विद्यार्थी अनिष गौतम माथि विद्यालय भित्रै ४ जना शिक्षकहरुले गरेको मुक्का प्रहार पछि सरोकारवाला निकायहरुको ध्यानाकर्षण भएको छ । जिल्ला वालकल्याण समितिका सदस्य रविराज बसौला उक्त घटना खेदजन्य भएको बताउँछन् । सामुदायिक विद्यालय भित्र कपाल पालेको विषयलाई वहाना बनाएर वालवालिका माथि कुटपिट गर्ने सम्बन्धमा राज्यका निकायले छानविन गर्नु पर्ने बसौलाले बताए ।
केन्द्रीय वाल अधिकार समितिका स्रोत व्यक्ति वद्रिप्रसाद वाग्ले विद्यालय पढ्न गएका बालबालिकाहरु उपर हुने कुनै पनि प्रकारको यातना र कुटपिट कर्पोरल पनिस्मेन्ट भएकोले त्यसलाई अक्षम्य अपराध मानिने बताउँछन् । पिडितले न्याय खोज्न प्रतिवद्ध हुन सकेको पीडकलाई सजाय दिन सरकार सक्षम रहेको वाग्लेले बताए । जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा विद्यालयले विद्यार्थीको अनुशासन कायम राख्न जरुरी भएपनि कुटपिट गर्न नहुने र भारती भवन माविमा भएको घटना सम्वन्धमा आफूले वुझेर सचेत गराउने बताए ।
विद्यालयले घटना घटेपछि विद्यार्थी अस्पताल सम्म गएपटि त्यसको खर्च जिम्मा लिने, घाइते र वहिनीको पढाई शुल्क मिनाहा गरिदिने वताएको छ । घटनापछि विद्यालयमा डेलिगेसन गएका अभिभावक एवम् स्थानिय युवाहरुलाई विद्यालयका प्रअ गोविन्द काफ्लेले यस्तो प्रतिवद्धता व्यक्त गर्दै माफी मागेका थिए ।
प्रअ काफ्लेले स्थलगत रिपोटिङमा गएका पत्रकारहरुको टोलीलाई पनि घटना आकस्मिक भएको र अब यस्तो हुन नदिने बताएका थिए । विद्यार्थी गौतमले भोली कपाल काटेर आउनु भन्दा भन्दै कुटपिट गर्न नहुने प्रअ काफ्ले बताएका थिए,यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । घाइतेकी आमा पार्वती गौतमले आफ्नो छोरा माथि निर्घात भएको कुटपितबाट आफू असह्य पिडामा रहेको बताएकी थिइन् । विद्यालयले आफूलाई तत्काल बोलाएर सहिछाप गराएको बताइन् । विद्यालयले आफ्नो गल्ती ढाकछोप गर्न विभिन्न योजना गरेको पाइएको छ । सञ्चारकर्मीहरु रिपोटिङ गरेर पोखरा फर्किएपछि पीडित पक्षलाई विभिन्न दवाव र प्रभाव सिर्जना गराइएको स्रोतले दावी गरेको छ ।आम नागरिकलाई शिक्षा प्रदान गर्न राज्यकोषवाट अरवौं खर्च भइरहेको छ ।
तर, राज्यकोषवाटै तलव भत्ता आएका जिम्मेवार शिक्षक हरु नै विद्यार्थीलाई आतंकित पार्न उद्दत देखिएका छन् यसले २१ औं सताव्दीको शिक्षा प्रणालीलाई सम्वोधन गर्न सक्दैन । बालमैत्री शिक्षण पद्धति अनुसार अगी वढ्न सके मात्र देश र जनता को हित हुन्छ की ? स्मरणीय छ: भारतीय भवन मावि यस क्षेत्रवाट राम्रो नतिजा ल्याउन सफल भएको भन्दै विभिन्न पुरस्कार प्राप्त सामुदायिक विद्यालय हो । हाल करिव ५ सय विद्यार्थी अध्ययनरत उक्त विद्यालय ले आफ्नो विगतको साख जोगाउन बालमैत्री र मनोवैज्ञानिक शिक्षण पद्धतिलाई अनुशरण गर्नु जरुरी छ ।
प्रतिक्रिया