डनका हतियार यसरी खोस्दै छ प्रहरी

birendraकाठमाडौं। लाइसेन्सप्राप्त हतियार आपराधिक गतिविधिमा प्रयोग हुन थालेपछि प्रशासनले हतियारको लाइसेन्स रद्द गर्न थालेको छ । प्रहरीको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले गुन्डागर्दीमा संलग्नको लाइसेन्सप्राप्त हतियार धमाधम खोस्न थालेको हो । ललितपुर प्रशासनले गत महिना पक्राउ परेका वीरेन्द्र महर्जनको हतियारको लाइसेन्स रद्द गरेको छ । गुन्डागर्दीको आरोपमा गत महिना महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई पक्राउ गरेको थियो ।

हतियार देखाएर उनले धम्क्याउने गरेको खुलेपछि लाइसेन्स रद्द गरिएको महानगरीय परिसर ललितपुर परिसरका एसएसपी पीताम्बर अधिकारीले बताए । उनका अनुसार हतियारको लाइसेन्स रद्द गरिएको यो पहिलोपटक हो । ललितपुर प्रहरीकै सिफारिसमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि दुई गुन्डा नाइकेको हतियारको लाइसेन्स रद्दको प्रक्रिया सुरु गरेको छ । विश्वक्रान्ति सिंह र प्रकाश मालीको हतियारको लाइसेन्स रद्द गर्न सिफारिस गरिएको एसएसपी पीताम्बर अधिकारीले बताए । २३ चैतमा पक्राउ परेका सिंह हाल जेलमा छन् ।

उनको साथबाट अत्याधुनिक दुई हतियार र एक सय ५६ वटा गोली बरामद भएको थियो । पिएस ६४४६४ नम्बरको सर्टगन र यान लेखिएको ३७५ बोरको राइफल उनको निवासबाट प्रहरीले बरामद गरेको थियो । माली पनि ललितपुरमा लामो समयदेखि गुन्डागर्दीमा सक्रिय व्यक्ति हुन्,आजको नयाँ पत्रिकामा खबर छ ।

केही महिनाअघि ग्याङफाइटमा पक्राउ पर्दा उनीसँग लाइसेन्सप्राप्त हतियार भएको खुलेको हो । सिंह र मालीले लाइसेन्सप्राप्त हतियारकै आधारमा धम्क्याउने गरेको प्रहरीले जनाएको छ । ‘उनीहरूले सरकारबाट लाइसेन्सप्राप्त हतियारकै आधारमा अपराध गर्दै आएको पाइएपछि रद्द गर्ने प्रक्रिया सुरु गरेका हौँ,’ एसएसपी अधिकारी भन्छन्, ‘लाइसेन्सप्राप्त हतियारले समेत समाजमा आतंक फैलाउने गरेको देखियो ।’

प्रतिक्रिया

सम्बन्धित