एआइजीको गाडीमा ‘तेस्रो लिङ्गी’ लिएर चोभार

काठमाडौं – नेपाल प्रहरीको मुख्यालय नक्सालबाट एक अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) को गाडी मध्यरातमा ‘तेस्रो लिङ्गी’ लिएर चोभार पुगेपछि २ प्रहरी निलम्बित भएका छन् । नेपाल प्रहरीका एआइजी टेकबहादुर तामाङको २ तारे गाडीमा स्वयम्भू नजिकैबाट तेस्रो लिङ्गी राखेर कीर्तिपुरको चोभार डाँडा पुर्याएको घटनामा संलग्न प्रहरी हवल्दार दिनेश पन्थी र जवान सागर बुच्या मगर निलम्बित भएका हुन् ।

ढिलो गरी सार्वजनिक भएको घटना यही २४ गतेको भएको जनाइएको छ । स्रोतका अनुसार २४ गते राति करिव ११ बजेको समयमा प्रहरी प्रधान कार्यालयकै सवारी महाशाखामा कार्यरत उनीहरूले हेडक्वार्टरबाट निकालेर महाराजगन्ज हुँदै चोभारतर्फ लगेका थिए । उनीहरूले गाडीमा स्वयम्भूबाट कल्पना र सुस्मिता नामकी तेस्रो लिङ्गीलाई गाडीमा हालेर चोभार पुर्याएका थिए । चोभार पुगेपछि सुरु भयो उनीहरूको लफडा। सुरुमा ५ हजारमा डिल गरेर तेस्रो लिङ्गी लगेकोमा पछि मूल्य बढाएर उनीहरूले २५ हजार चाहियो भनेपछि लफडा भएको स्रोतको दाबी छ।

विवादका क्रममा प्रहरीद्वयले आफूहरु नेपाली सेनाको कर्मचारी भएको समेत बताएका थिए। तर दुवै पक्षबीच विवाद बढ्दै गएपछि पुगेको प्रहरीले मध्यरात करिब १ बजेतिर उनीहरू ४ जनालाई नै नियन्त्रण लियो।

नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा उनीहरुको वास्तविकता खुलेको थियो। त्यसपछि महानगरीय प्रहरी वृत किर्तिपुरले ती प्रहरी हवल्दार र जवानलाई एक रात वृत्तमै राखेर अर्को दिन कारबाहीको लागि हेडक्वार्टर पठाएको थियो। हेडक्वार्टरले सो खबर पाउनासाथ तत्कालका लागी दुवै जनालाइ निलम्बनमा राखेर अनुसन्धान सुरू गरेको पनि स्रोतले जनाएको छ ।

साथै उनीहरूसँगै चोभारबाट प्रहरी नियन्त्रणमा पुगेका तेस्रो लिङ्गीलाई भने आवश्यक अनुसन्धान पश्चात प्रहरीले आफन्तको जिम्मा लगाएको थियो । उनीहरू सवार बिएए ७४०१ नम्बरको गाडी भने सोही सवारी साधनका सवारी चालक प्रहरी जवान छिरिङ तामाङलाई जिम्मा लगाइएको थियो। प्रहरी हेडक्वाटर भित्रबाटै एआइजीको गाडी मध्यरातमा दुरुपयोग हुनुलाई सरोकारवालाहरुले भने गम्भीर विषयका रुपमा बुझेका छन्।

साभार : www.kagajpatra.com

 

प्रतिक्रिया

सम्बन्धित