८० लाख लुटपाट गर्ने २ पक्राउ, ६ जना अझै फरार

जनकपुर – जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट ८० लाख रुपैयाँ लुटेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

रकम लुट्ने कार्यमा संलग्न रहेको आरोपमा जनक महतो र श्रवण कापरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ परेकाहरुको साथबाट प्रहरीले केही रकम समेत बरामद गरेको जनाएको छ ।

गत वैशाख ४ गते धनुषाको सबैला–१२ रघुनाथपुरको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम–१९ मा पेस्तोल देखाएर ८० लाख लुटेका थिए । धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले सोमबार तीन जनाले रकम लुटे पनि ८ जनाको संलग्नता रहेको पाइएको बताए ।

उनले संलग्नहरुमध्ये दुई जना पक्राउ परेको तथा बाँकी फरार रहेकाले उनीहरुको खोजी भइरहेको बताए । उक्त लुटपाटको घटनामा संलग्न रहेकाहरुविरुद्ध लागूऔषधलगायतका मुद्दा यसअघि पनि रहेको उनले बताए। प्रहरीले दुई जनालाई सार्वजनिक गरे पनि नाम भने खोलाएको छैन । प्रहरीले यस सम्बन्धमा आवयश्क अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित