बिपी जन्मजयन्ती मनाईंदै, सम्झेर मात्र अर्थ छैन
काठमाडौं : प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेवश्वरप्रसाद कोइरालाको १०३ औँ जन्मजयन्ती आज नेपालभर मनाईंदै छ । नेपालको राजनीतिक विकास क्रममा आदर्श राजनीतिज्ञका रुपमा स्थापित कोइरालाको जन्म विक्रम संवत १९७१ भदौ २४ गते बनारसमा भएको थियो । कोइरालाले नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानियाँ राणा शासनविरुद्ध संघर्ष गर्नुभएको थियो । उहाँले भारतको स्वतन्त्रताका लागि समेत संघर्ष गर्नुभएको थियो । उहाँ पटक पटक गरी करिब १२ वर्ष कारागार जीवन बिताउनुभएको थियो । विक्रम संवत २००७ अगाडि भद्रगोल नजिकैको कारागार जीवनमा रहनुभएका कोइराला नेपाली समाजको गतिशीलता र प्रगतिका लागि चिन्तित हुनुहुन्थ्यो । उहाँले साथीहरूसँग मिलेर विक्रम संवत २००३ मा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गर्नुभएको थियो भने पछि विक्रम संवत २००६ मा सुवर्णशम्शेरले स्थापना गरेको नेपाली प्रजातान्त्रिक कांग्रेससँग एकीकरण गरी कोइराला सभापति बन्नुभएको थियो । उहाँ विक्रम संवत २००७ मा अन्तिम राणा प्रधानमन्त्री मोहनशम्शेरको मन्त्रिपरिषद्मा गृहमन्त्री बन्नुभएको थियो । विक्रम संवत २०१५ फागुन ७ मा भएको संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाई उहाँ पहिलो जननिर्वाचित प्रधानमन्त्री भई मुलुकको नेतृत्व गर्नुभएको समयमा विक्रम संवत १०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले उहाँको सरकारलाई अपदस्थ गरेपछि विक्रम संवत २०१७ देखि ०२५ सालसम्म सुन्दरीजलस्थित बन्दीगृहमा बस्नुभएको थियो । कोइरालाको दर्शन तथा चिन्तनलाई स्वयम् कांग्रेसले छाड्दै गएको अवस्थामा उहाँलाई वर्षमा एक दिन सम्झेर मात्र खासै अर्थ छैन । भारतमा निर्वासित रहँदा पनि नेपालमाथि विदेशीको षड्यन्त्र भइरहेको थाहा पाएपछि राष्ट्रिय मेलमिलापको नीति लिएर कोइराला विक्रम संवत २०३३ मा नेपाल फर्कनुभयो । त्यसपछि पनि उहाँलाई सुन्दरीजलमा दुई वर्ष कारागार जीवन बिताउन बाध्य बनाइयो । बिपीको समाजवादमा ‘प्रत्येक नेपालीले गाई पालेर दुई छाक खान पुग्ने’ अवस्थाको परिकल्पना गरिएको छ । प्रत्येक गाउँमा विद्यालय र अस्पतालको समेत कल्पना गरेका थिए । बिपी सफल राजनीतिज्ञका साथै सफल साहित्यकार समेत हुनुहुन्थ्यो । उहाँका ‘दोषी चस्मा’ कथासंग्रह, ‘सुम्निमा’ ‘मोदिआइन’, ‘तीन घुम्ती’, ‘हिट्लर र यहुदी’, ‘बाबु, आमा र छोरा’, ‘नरेन्द्र दाइ’उपन्यास र कविता कृति प्रकाशित छन् । उहाँको निधन विक्रम संवत २०३९ साउन ६ गते काठमाडौँमा भएको थियो ।
प्रतिक्रिया