काठमाडौंको चन्द्रगिरिमा प्रहरी र लुटेरा समूहबीच गोली हानाहान

khelauna-pestolकाठमाडौं : राजधानीको चन्द्रागिरिमा पर्ने मातातिर्थस्थित चियान डाँडामा प्रहरी र हतियारधारी व्यक्तिबीच गोली हानाहान भएको छ । महानगरीय प्रहरी परिसर मातातिर्थको चियान डाँडा हुँदै मकवानपुर जाने कच्ची सडकमा टाटासुमो गुडेको देखेपछि प्रहरीले शंका गरेर पछ्याउँदै गर्दा आज विहान टाटासुमोबाट प्रहरीमाथि गोली प्रहार भएपछि प्रहरीको तर्फबाट पनि जवाफी फायर भएको हो । काठमाडौंका प्रवक्ता एसपी प्रद्युम्न कार्कीका अनुसार हतियारधारी समूहले प्रहरीमाथि दुई राउन्ड फायर गरेका थिए । त्यसपछि प्रहरीले फायर खोलेको थियो । प्रहरीले फायर गरेपछि उनीहरुले गाडी छोडेर जंगलतिर भागेका थिए । एसपी कार्कीका अनुसार गाडीमा चारजना सवार रहेको र उनीहरुको खोजी भइरहेको छ । गाडीमा बन्द गरिएको अवस्थामा एक सेफ फेला परेको छ । गोली प्रहार गर्ने समूहले छोडेको लकरमा जम्मा २५ हजार रुपैयाँ मात्र फेला परेको प्रहरीले जनाएको छ। लुटेरा समूहले सो लकर ललितपुर बज्रबाराहीस्थित सन्तानेश्वर बचत तथा ऋण सहकारी लिमिटेडबाट लुटेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले प्रहरीमाथि गोली प्रहार गर्ने समूहको खोजीमा कालिमाटी, थानकोट, कीर्तिपुर, बलम्बु र मातातीर्थका प्रहरी युनिटलाई चन्द्रागिरी जंगलमा परिचालन गरेको छ। चापागाउँ प्रहरीका अनुसार बिहीबार बिहान सो सहकारीको लकर चोरी भएको प्रहरीमा उजुरी दिएका थिए। महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी श्याम राईले चन्द्रागिरी क्रस फाइरिङमा अज्ञात समूहले छोडेको करिब १ सय केजीको लकर सो सहकारीको हुनसक्ने भन्दै सहकारी कर्मचारी र प्रहरी काठमाडौं प्रहरी परिसर पुगेका थिए। सहकारी कर्मचारीले ल्याएको चाबीले सो लकर खुलेको थियो। लकर खुल्दा त्यसमा करिब २५ हजार रुपैयाँ मात्र पाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ। घटनामा प्रयोग भएको ना १ ज ३९४८ नम्बरको टाटा सुमो गाडीका मालिकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। एसपी प्रद्युम्न कार्कीका अनुसार गाडी मालिक गंगा तामाङ र ग्यारेज सञ्चालक अर्का व्यक्तिलाई नियन्त्रणमा लिएर थप सोधपुछ भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित