आईजीपीले किन हकारे चार डीआईजीलाई ?

digs काठमाडौं । नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन अझै ७ महिना बाँकी छ । भावी प्रहरी महानिरीक्षक (आईजीपी) को हुने भन्नेबारेमा अहिलेदेखि नै डीआईजीहरुमा दौडधुप सुरु भइसकेको छ । डीआईजीहरू नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारीमध्येबाट एक जना महानिरीक्षक हुनेछन् । उनीहरूबीचको प्रतिस्पर्धा अहिलेदेखि नै सुरु भइसकेको छ । करिब ७० हजारभन्दा बढी प्रहरीको नेतृत्व सम्हाल्नु सामान्य जिम्मेवारी होइन । प्रहरी महानिरीक्षकको कार्यकाल सकिन अझै ६ महिनाभन्दा बढी बाँकी भएका बेला अबको आईजीपी को हुने भन्नेबारेमा चलखेल सुरु भइसकेको छ । केही डीआईजीले अहिलेदेखि नै ‘भावी आईजीपी मै हो’ भन्दै हिँड्न थालेपछि महानिरीक्षक उपेन्द्रकान्त अर्यालले  यसैसाता आफ्नो कार्यकक्षमा बोलाएर झपारेका छन् । “संगठनको नेतृत्व छान्दा उसको कार्य क्षमता, नेतृत्व क्षमता, ज्येष्ठता र अनुभवका आधारमा छान्ने हो । तर, केही डीआईजीले अहिलेदेखि नै चलखेल गरेपछि प्रहरी संगठनकै बदनाम हुन सक्ने ठानेर आईजीपी अर्यालले उनीहरूलाई चेतावनी दिनुभएको हो,” प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो । केही डीआईजीले एक-अर्काको खेदो खन्ने र सुराकी नै खटाउने गरेको प्रहरी स्रोत बताउँछ । अर्यालले सबै मिलेर संगठनलाई बलियो बनाउने भन्दा पनि व्यक्तिगत स्वार्थका लागि आफूखुसी चल्ने प्रवृत्ति प्रहरीमा बढेर गएको बताए । “यसले संगठनको हित गर्दैन । केही डीआईजीले अनावश्यक मिडियाबाजी गर्नेजस्ता गलत काम पनि गरेको सुनिएको छ । यस्तो नगर्न मैले आईजीपीका दाबेदार चारैजनालाई सचेत गराएको छु,” अर्यालले भने । आफूले सबैलाई संगठनको बदनाम नगर्न सचेत गराएको उनले जानकारी दिए । “एकले अर्काको कुरा काट्ने गर्दा उनीहरुको मात्रै होइन, संगठनको नै बदनाम हुने हो,” अर्यालले भने, “त्यसैले आफ्ना ब्याजीको कुरा काट्नु भनेको संगठनको घाँटी रेट्नुजस्तै हो । संगठनको घाँटी रेटेर होइन, रचानात्मक काम गरेर कसरी राम्रो बनाउने भन्नेमा सबैजना एकजुट हुनुपर्छ । प्रहरी संगठनको नेतृत्व सम्हालनु चानचुने कुरा होइन ।” कसैलाई केही विषयमा चित्त नबुझेको भए बैठकमा राख्नसमेत अर्यालले सुझाएका छन् । “कसैलाई केही विषयमा चित्त बुझेन भने बैठकमा कुरा राख्न सकिन्छ । त्यसका लागि जति पनि समय पाइन्छ,” अर्यालले भने, “तर संगठनभित्रका नकारात्मक विषय खोतलेर मिडियाबाजी गर्ने होइन । त्यसका लागि केही प्रहरीले मिडियामा लगानी गरेको पनि सुन्नमा आएको छ । त्यसो हो भने छानबिन हुन्छ ।-बाह्रखरी डटकमबाट

प्रतिक्रिया

सम्बन्धित