मनाङ्गे कारागार चलानपछि कहलिएका गुण्डा नाइकेहरु आतंकित

sutedmanangeकाठमाडौं । पुराना कहलिएका गुण्डा नाइके दिपक मनाङ्गे र उनका सहयोगी राजनकुमार सिंहलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि अन्य गुण्डा नाइकेहरुको समेत सातो गएको छ । यसअघि प्रहरीले गुण्डा नाइकेलाई पक्राउ गरेर अदालतमा बुझाउनासाथ उनीहरु सेटिङ मिलाएर धरौटीमा छुट्ने चलन रहेकोमा यो पटक भने अदालत पनि गुण्डा नाइकेबिरुद्द कठोर रुपमा उत्रिएको मनाङगे प्रकरणले देखाएको छ । गुण्डागर्दी बिरुद्द महानगरिय प्रहरी परिसरको कडा रबैया र अपराध महाशाखाको आक्रमक कार्यशैलीलाई अदालतले पनि साथ दिएका कारण गुण्डा नाइकेहरुको सातो गएको हो ।

अपहरणको धम्की दिंदै जबर्जस्ती रकम असुलेको अभियोगमा पक्राउ परेका मनाङ्गेलाई अतिरिक्त न्यायाधीश ऋषिकेश वाग्लेको एकल इजलाशले मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले मनाङ्गेसहित ५ जनालाई अपहरण तथा शरीर बन्धक उद्योग र संगठित अपराध ऐन अनुसारको अभियोगमा अनुसन्धान गरेको थियो ।

प्रहरीले मनाङ्गेलाई असार १८ मा पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान सकाएर प्रस्तावित रायमा संगठित अपराधको अभियोग समेत लगाए पनि जिल्ला न्यायाधिवक्ताको कार्यालयले भने मनाङ्गेमाथि अपहरण उद्योगमा मात्रै दण्ड जरिवानाको माग दाबी गर्दै अभियोग पत्र दर्ता गरेको थियो । दर्जनौं आपराधिक अभियोग लाग्ने गरे पनि अधिकांश अभियोगमा धरौटीमा छुट्दै आएका मनाङ्गेको सम्पत्ती शुद्धिकरण सम्बन्धी मुदा बिशेष अदालतमा बिचराधिन छ । उनीमाथि अदालतका कर्मचारीलाई पनि धम्क्याएको अभियोग थियो । अदालतको आदेशपछि मनाङ्गे डिल्लीबजार कारागार चलान भएका छन्  । मनाङ्गेविरुद्ध संगठित अपराधका धेरै उजुरी परेका र उनले पछिल्लो समय धम्क्याएर फिरौती रकम असुन्ने गरेको भन्दै परिसरका एसएसपी विक्रमसिंह थापाले उनीसहित अन्य गुण्डाहरुको सञ्जालपनि ध्वस्त पार्ने बताएका थिए  । मनाङ्गेले भूमिगत रुपमा युवा परिचालन गरी संगठित अपराध गरेको एसएसपी थापाको भनाई छ ।

मनाङ्गेलाई संगठित अपराधको मुद्दा चलाउने थापाको दृढता रहे पनि जिल्ला न्यायाधिवक्ताको कार्यालयको बदमासिले भने त्यो सफल हुन सकेन । तर, आफु कार्यरत हुँदासम्म गुण्डागर्दी विरुद्धको अभियानलाई अझ सक्रिय बनाउने एसएसपी थापाको भनाई छ । काठमाडौंको अपराध नियन्त्रणका लागि उनले तीन ‘एस’को रणनीति  सार्वजनिक गरेका थिए ।

पहिलो चरणमा ‘स्वीप’ अर्थात् अपराधीलाई नियन्त्रणमा लिने, दोस्रोमा  ‘स्क्रिनिङ’ अर्थात् अपराधको पृष्ठभूमि केलाउने र अपराधिक गतिविधि त्याग्न सचेत गराउने । यी दुई चरणमा पनि गुण्डाहरु नसुध्रिएको खण्डमा अन्तिममा तेस्रो ‘एस’ प्रयोग गर्ने उनले बताएका थिए । एसएसपी थापाले तेस्रो ‘एस’मा ‘सुटआउट’लाई राखे पनि सुटआउटको प्रयोग भने उनले गरेका छैनन । यद्यपी एसएसपी थापाले आफ्नो गुण्डागर्दी बिरुद्धको रणनीति सफल भएको पनि दावी गरेका छन्,यूनाइटेड पोष्ट साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित