बालुवाटारमा उपप्रधानमन्त्री निधि र एमाले उपाध्यक्ष रावलबीच झण्डै हात हालाहाल
काठमाडौं :
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनसहित मुख्य तीन विषयमा छलफल गर्न बालुवाटारमा बोलाएको तीन दलको बैठकमा तनाव भएको छ । बैठकमा संविधान संशोधनलाई लिएर उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि र नेकपा एमाले उपाध्यक्ष भीम रावलबीच विवाद भएको हो । बैठक चलिरहेका बेला संविधान संशोधनको विषयमा छलफल हुँदा रावलले उपप्रधानमन्त्री निधिको भारत भ्रमणका सन्दर्भमा दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको प्रेस विज्ञप्ति पढेर सुनाए । उनले विज्ञप्ति पढ्दै नेपालको संविधान संशोधन गर्ने विषय भारतमा गएर छलफल गरेको भन्दै गम्भिर आपत्ति जनाए । दूतावासले जारी गरेको विज्ञप्तिमै संविधान संशोधनबारे भारतीय प्रधानमन्त्री र नेताहरुसँग कुराकानी भएको उल्लेख हुनु गम्भिर विषय हो भन्दै रावलले आपत्ति जनाएका थिए । रावलको कुरा नसकिँदै निधि रावलमाथि खनिए । संविधान जारी गर्ने बेलामा धेरै विदेशीका सुझाव लिइएको भन्दै निधिले ‘तपाईँलाई पनि विदेशीले सुझाव दिएका छन् र विदेशीलाई तपाईँले पनि जानकारी गराउनुभएको छ’ भन्दै निधिले रावललाई विदेशीले फन्डिङ गरेको समेत लान्छाना लगाएपछि उनीहरुबीच झण्डै हात हालाहालको अवस्था सिर्जना भएको थियो । दुई नेताबीचको सवाल जवाफ बढ्ँदै जाँदा व्यक्तिगत आक्षेप लगाउनेसम्म कुरा पुगेपछि बैठकमा केहीबेर तनाव भएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार रावलले निधिलाई विदेशीले फन्डिङ गरेको प्रमाण देखाउन चुनौति दिए । निधिले पनि आफूसँग प्रमाण रहेको दाबी गरे । रावलले प्रमाण देखाउनुस् भन्दै आक्रोश व्यक्त गर्दा झण्डै हात हालाहालको अवस्था आउन खोजेको हो । त्यसपछि प्रधानमन्त्री प्रचण्ड सहितका अन्य नेताहरुले यो विषयलाई छाड्न आग्रह गर्दै उनीहरुलाई मिलाउन कोशिष गरेका थिए ।मधेसी, आदिवासी जनजाति तथा थारुलगायतका माग सम्बोधन गर्न संविधान संशोधन गर्ने विषयमा सहमति जुटाउन दाहालले बैठक बोलाएका थिए ।
प्रतिक्रिया