पूर्व राष्ट्रपतिलाई ६० लाख दिने सरकारको निर्णय
काठमाडौं : पूर्वराष्ट्रपति डा.रामवरण यादबलाई सरकारले ६० लाख रुपैयाँ दिने निर्णय गरेको छ। थप उपचारका लागि अमेरिका जान उनलाई सरकारले ६० लाख रुपैयाँ र अमेरिका आउन जान बिजनेस क्लास टिकट र दैनिक ३ सय अमेरिकी डलर भत्ता दिने निर्णय सरकारले गरेको छ। सरकारले पूर्वराष्ट्रपति यादबका तीन सहयोगीहरुलाई समेत सुविधा दिने निर्णय गरेको छ। तीन जना सहयोगीलाई दैनिक १५० डलर भत्ता तथा टिकट खर्च दिने निर्णय भएको छ। अमेरिका पुगेपछिको उपचार प्रबन्ध त्यहाँस्थित नेपाली दूतावासले गर्ने मुख्यसचिव सोमलाल सुवेदीले बताए। पूर्वराष्ट्रपति डा. यादवलाई प्रोस्टेट क्यान्सर भएको छ। भारतमा स्वास्थ्य परीक्षणक्रममा पूर्वराष्ट्रपति यादवलाई प्रोस्टेट क्यान्सर देखिएको हो। प्रोस्टेट क्यान्सर देखिएपछि यादव शल्यक्रियाका लागि अमेरिका लैजाने तयारी भइरहेको छ। अस्पतालले क्यान्सर उपचारका लागि केही साताभित्रै (मिनिमल इनभेजिभ रेडिकल प्रोस्टाटेक्टोमी) सानो प्वाल पारेर शल्यक्रिया गर्ने आधुनिक प्रविधि गर्न सल्लाह दिएपछि पूर्व राष्ट्रपति यादव अमेरिका जान लागेका हुन्। यादवले उपचारका लागि खर्च उपलब्ध गराउन सरकारसँग आग्रह गरेका थिए।
प्रतिक्रिया