संगठित अपराधमा डन दिपक मनाङ्गे ७ बर्ष जेल जान सक्ने

manangedonकाठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले पहिलो पटक संगठित अपराधमा मुद्दा चलाएर राजिब गुरुङ भन्ने डन दिपक मनाङ्गेलाई अदालतमा पेस गरेको छ । मनाङ्गेसँगै पक्राउ परेका राजनकुमार सिंहलाई पनि अदालतमा पेस गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रम सिंह थापाले मनाङ्गेलाई अपहरण बन्धक तथा संगठित अपराधमा मुद्दा चलाएर अदालतमा पेश गरिएको बताए ।

 मनाङ्गेसँगै सुशील मनाङ्गे, ज्याक गुरुङ र शनि गुरुङलाई प्रहरीले फरार अभियुक्तको सूचीमा राखेर मुद्दा चलाएको एसएसपी थापाले बताए । अदालतले उनीहरूलाई दोषी ठहर गरेमा ७ देखि १५ वर्षसम्म जेल सजाय र ५० हजार देखि २ लाखसम्म जरिबाना हुने छ ।

  मनाङ्गेसहित विशेष अदालतमा ५ जना डनहरुको मुद्दा बिचराधिन अवस्थामा छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले तीन वर्षअघि ५ उनीहरुबिरुद्द मुद्दा दायर गरेको थियो । मनाङ्गेले अदालतकै कर्मचारीलाई मुद्दाकै बिषयमा धम्क्याएपछि प्रहरी सक्रिय बनेको हो ।

 झन्डै दुई महिना अघि पक्राउ परेका मनाङ्गे ठमेल क्षेत्रमा गुण्डागर्दीमा सक्रिय रहंदै आएका छन् । ठमेलमा संचालित अवैध धन्दाको संरक्षक बन्दै आएका  मनाङ्गे बिरुद्ध प्रहरीमा आधा दर्जन बढी मौखिक उजुरी परेको थियो ।  ठेक्कापट्टा, होटल, डान्सबार र रेष्टुरेन्ट संचालकले रकम नदिए उनले डर त्रास देखाएर सहयोगी परिचालन गरी रकम असुल्ले उनको बानी नै रहेको प्रहरीले जनाएको छ ।  मनाङ्गेको सोमबार अदालतमा बहस हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित